काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिसक्न निर्देशन दिएको छ।
विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएकोले थप समय दिइएको समितिले जनाएको छ ।
आगामी केही दिन पनि वर्षा कायम रहने अवस्थालाई ध्यानमा राख्दै क्षेत्रीय अधिवेशनका कार्यक्रम असोज १३ गतेभित्र सक्न भनिएको हो ।
१५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त भएको काँग्रेसले जनाएको छ ।
१५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् नारा र लोगो सार्वजनिक गरिएको हो।
नारा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन- परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने छ।
साथै लोगोमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ। १५ औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुनेछ।
