मङ्ल, अशोज ६, २०८३
24.1 C
Kathmandu

टिएमएसको ‘डेटा सेन्टर’ साइबर हमलामा परेपछि सेयर कारोबार नै स्थगित

काठमाडौं । अनलाइन सेयर कारोबार प्रणाली अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)को सर्भर राखिएको डेटा सेन्टरमा साइबर हमला भएको छ । ७२ ब्रोकरको टिएमएस सर्भर राखिएको ‘डेटा हब प्रालि’को डेटा सेन्टर आक्रमणमा परेपछि सोमबारको सेयर कारोबार नै स्थगन गरिएको हो । पुँजीबजारमा पहिलोपटक यति ठुलो साइबर आक्रमण भएको हो । पुँजीबजारमा लगानीकर्ताको साढे ४५ खर्ब लगानी छ । आइतबार बिहान साढे पाँच बजे डेटा हब प्रालिको प्रणालीमा साइबर आक्रमण भएको पहिचान भए पनि आक्रमण कसले गर्‍यो भन्ने विषय अझै अज्ञात छ ।

डेटा हबमा विभिन्न बैंक, कम्पनी, संस्थालगायतका धेरै कम्पनीले सर्भर राखेका छन् । तर, ७२ ब्रोकरको टिएमएस सर्भर भएको प्रणालीमा मात्रै साइबर आक्रमण भएको हो ।

सेयर कारोबारका लागि १ साउन ०७५ देखि टिएमएस प्रणाली सञ्चालनमा ल्याइएको थियो । यसलाई पूर्ण रूपमा भने २० कात्तिक ०७५ बाट सञ्चालनमा ल्याइएको हो । टिएमएस वाइको प्रालि (योमरी कम्पनी)ले बनाएको प्रणाली हो । यसले सेयर खरिद–बिक्रीलाई पूर्ण रूपमा डिजिटलाइज गरेको छ । टिएमएस ‘सफ्टवेयर’ सञ्चालन गर्न ‘सर्भर’ चाहिन्छ । ब्रोकरहरू एक्लाएक्लैले यस्तो डेटा सेन्टर सञ्चालन गरेर सर्भर राख्न मिल्छ । तर, लागत उच्च पर्ने भएपछि ब्रोकरहरूले क्लाउड सेवा अर्थात् डेटा सेन्टरबाट ‘सर्भर’ सेवा आउटसोर्स गर्दै आएका छन् ।

हाल नेपालमा सञ्चालित ९२ मध्ये ७२ ब्रोकरले ‘डेटा हब प्रालि’मा सर्भर राखेका छन् । अर्थात्, उनीहरूको डेटा सेन्टर नै डेटा हब प्रालि हो । अन्य ब्रोकरले भने ‘क्लाउड हिमालयन’मा सर्भर राखेका छन् । यसमा वाइको कम्पनीले पनि समन्वयन गरिदिन्छ ।

आइतबार साप्ताहिक बिदा भएका कारण सेयर कारोबार पनि स्वतः बन्द अवस्थामा थियो । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित सेयर कारोबार हुँदै थियो । त्यो अवस्थामा डेटा हब प्रालिले आइतबार दिन र राति साइबर आक्रमणको समस्या समाधान गरेर कारोबार हुने समयभित्रै प्रणालीलाई सामान्य अवस्थामा ल्याउने योजना बनाएको थियो । त्यही कारण डेटा हबले आक्रमण भएको विषय नै गोप्य राख्यो ।

तर, योजनाअनुसार प्रणाली सञ्चालनमा ल्याउन नसकेपछि डेटा हब प्रालिले सोमबार बिहान वाइको कम्पनीमार्फत ब्रोकर कम्पनी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यसबारे जानकारी दिएर प्रणाली सञ्चालन गर्न नसकिने बताएको थियो । त्यसपछि स्टक ब्रोकर एसोसिएसनको प्रस्तावमा नेप्सेले सोमबारका लागि कारोबार स्थगन गरेको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज