शनि, कार्तिक ८, २०८३
22.1 C
Kathmandu

बाढी प्रभावित क्षेत्रमा झाडापखाला, चिकित्सकले दिए हैजा फैलिने चेतावनी

काठमाडौं । होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ । बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ ।

चिकित्सकहरूले हैजा फैलिने जोखिम रहेको चेतावनी दिएका छन् । बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने भन्दै विज्ञहरूले सचेत रहन चेतावनी दिएका छन् ।

मानिसका शव र मरेका जनावरहरूका कारण दुर्गन्ध फैलिँदा महामारीजन्य रोग चाँडै फैलिन सक्ने उनीहरूको भनाइ छ ।

होल्डिङ सेन्टरमा झाडापखला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजाविरुद्धको २१ हजार खोप र एक हजारभन्दा बढी प्याकेट जीवनजल पठाएको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा पनि करिब पाँच हजार प्याकेट जीवनजल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका ३ रणभुवनेश्वरी माविमा राखिएका करिब एक सय बाढीपीडितमध्ये तीनजनामा झाडापखाला देखिएको छ । विदुर ७ कै लाइब्रेरी र स्वास्थ्यचौकी भवनमा बसेका चारजनामा पनि झाडापखाला देखिएको छ । जहाँ २५० जना बाढीपीडित बसिरहेका छन् ।

त्यस्तै, रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीनजनामा झाडापखाला देखिएको छ ।

होल्डिङ सेन्टरमा बसेकाहरूलाई खानेपानी र सरसफाइमा विशेष ख्याल गर्न तथा सचेत हुन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज