आइत, कार्तिक ९, २०८३
14.1 C
Kathmandu

परिवारले काजकिरिया गरिसकेपछि बाढीले पुरिएको घरबाट जीवितै भेटिइन् चण्डिका

काठमाडौँ । भोटेकोशी बाढीको एघारौँ दिन शनिबार पनि बेपत्ता दुईजनाको सकुशल उद्धार भएको छ । नुवाकोट वेत्रावतीमा गेग्रानले पुरिएको घरभित्रबाट ६४ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली १ को सुरुङबाट लु हाइताओ नाम गरेका चिनियाँ नागरिकको उद्धार गरिएको हो । यसअघि शुक्रबार त्रिशूली थ्री ‘ए’को सुरुङबाट कीर्तिपुरका कबिर महर्जन र सप्तरी सञ्जय साहको जीवितै उद्धार भएको थियो ।

वेत्रावती बगरमा अन्य दिनजस्तै शव खोज्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हिँडिरहेको थियो । २४ शव भेटिइसकेको यस क्षेत्रमा शनिबार भने बगरमा पुरिएको घरतिरबाट अनौठो सन्देश आयो– गुहार, गुहार । घरको माथिल्लो तल मात्रै बगरले पूर्ण रूपमा छोपेको थिएन । उद्धार टोली झ्याल फुटाएर भित्र छिर्दा जीवितै भेटिइन् चण्डिका ।

परिवारका अनुसार उनी बाढी आउँदा चारतले घरको सबैभन्दा माथि रहेको भान्सामा थिइन् । बाढीले लगभग पूरै पुरेको घरमा माथिल्लो तलाको भान्साको एउटा चेपभित्र १० दिन बिताइन्, एघारौँ दिनमा सकुशल फर्किएकी छिन् । जबकि परिवारले आठ दिनसम्म कुनै अत्तोपत्तो नभएपछि कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया थालिसकेको थियो । शोकमा रहेको परिवारमा एकाएक खुसी फर्किएको छ । चण्डिकाका श्रीमान् आनन्दलाल श्रेष्ठ अझै बेपत्ता छन् । चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार चार तलाको घर बाढीले बगाएर नदीको बिचमा पुर्‍याएको थियो ।

चण्डिका मधुमेह र उच्च रक्तचापकी बिरामी पनि हुन् । तर, ११ दिनपछि पनि उनलाई सकुशल भेट्दा उद्धारमा खटिएको टोलीसमेत आश्चर्यमा परेको छ ।

बुबाआमा नभेटिएपछि आठौँ दिन कुशको शव बनाएर दाहसंस्कार गरी छोराहरू अनिश र आयुश सानोभर्‍याङस्थित घरमा काजकिरियामा थिए । आमा भेटिएपछि उनीहरू अस्पतालमा भेट्न पुगे ।

सम्बन्धित समाचार

ताजा न्यूज