सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

सरकारको निर्णय–भदौ २२ गते राष्ट्रिय शोक, २३ मा जेन–जी सहिद दिवस घोषणा

काठमाडौं । सरकारले यही भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरुको सम्मानमा मन्त्रिपरिषदले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

यही भदौ १० गतेको बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरुको सम्मान स्वरुप घटना भएको १३औं दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

सरकारले भदौ २३ गतेलाई जेन–जी सहिद दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिनलाई जेन–जी सहिद दिवस घोषणा गरेको हो।

‘२०८३ साल भदौ २३ गते जेन–जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने।

सरकारले जेन–जीको नेतृत्वमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनलाई यसअघि नै जनआन्दोलनको मान्यता दिएकाे थियाे। गत मंसिर २४ गते जेन–जी प्रतिनिधिसँग भएको सम्झौतामा उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज