बिहि, कार्तिक ६, २०८३
15.1 C
Kathmandu

आफ्नो खुसीलाई अरूको आवश्यकतासँग जोड्ने मोसोका, सबैले गरे प्रशंशा

काठमाडौं । वार्षिकोत्सव प्रायः आफ्नो उपलब्धि सम्झिने, उत्सव मनाउने र आगामी योजनाको घोषणा गर्ने अवसरका रूपमा लिइन्छ । तर, मोरङ समाज काठमाडौं (मोसोका)ले आफ्नो २७औँ वार्षिक उत्सव तथा दोस्रो मोरङ समाज दिवसलाई केही फरक ढंगले मनायो । मोसोकाले आफ्नो खुसीलाई अरूको आवश्यकतासँग जोड्यो ।

काठमाडौंको सुन्दरीजल नयाँबस्तीस्थित मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको सेवामा समर्पित मेरिनोल नेपाल/आसादीप पुगेर समाजले खाद्यान्न तथा आवश्यक सामग्री वितरण ग¥यो । मोरङ्गेली सहयोगी दाताहरूबाट प्राप्त रकममध्ये करिब २१ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको हो । उदाहरणीय कार्यका लागि कार्यक्रममा सबैले प्रशंशा गरेका छन् ।

रकमको हिसाबले यो सहयोग ठूलो नहुन सक्छ । तर, सामाजिक सेवाको मूल्य रकमको आकारले मात्र निर्धारण हुँदैन । आवश्यकतामा रहेका मानिसका लागि समयमै प्राप्त एउटा बोरा चामल, दाल, तेल वा दैनिक उपभोगका सामग्रीले पनि ठूलो अर्थ राख्न सक्छ । अझ महत्वपूर्ण कुरा, यस्तो सहयोगले समाजमा ‘हामी एकअर्काका लागि हौँ’ भन्ने भावनालाई बलियो बनाउँछ । मोसोकाले यही सन्देश दिएको छ ।

समाजका अध्यक्ष ओमकुमार मास्केले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएको योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मानवीय सेवाका लागि सहयोग गर्ने दाताहरूप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो । सामाजिक संस्था केवल कार्यक्रम आयोजना गर्ने ठाउँ मात्र होइन, आवश्यकता परेका वर्गसँग जोडिने माध्यम पनि हो भन्ने उदाहरण समाजले दिएको छ ।

कार्यक्रममा मोरङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद गुरू बरालले समाजको अभियानको प्रशंशा गर्नुभयो । शिक्षा, स्वास्थ्यको क्षेत्रमा अझै सशक्त भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो ।

मानसिक स्वास्थ्यसँग जोडिएका समस्या अझै पनि नेपाली समाजमा पर्याप्त रूपमा खुला बहसको विषय बन्न सकेका छैनन् । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई उपचार र पुनःस्थापनासँगै निरन्तर हेरचाह, संरक्षण र सामाजिक स्वीकार्यता आवश्यक हुन्छ । त्यसैले मानसिक स्वास्थ्य क्षेत्रमा काम गरिरहेका संस्थालाई समुदायबाट हुने सहयोग केवल खाद्यान्न वा आर्थिक सहयोगमा सीमित हुँदैन । यसले मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका व्यक्तिप्रति समाजको दृष्टिकोण परिवर्तन गर्नसमेत मद्दत पु¥याएको हुन्छ ।

समुदायका लागि समुदाय
मोरङ समाज काठमाडौंको अर्को उल्लेखनीय पक्ष समुदायका लागि समुदाय हो । मोरङबाट काठमाडौं आएर विभिन्न क्षेत्रमा सक्रिय रहेका व्यक्तिहरूलाई एउटै सामाजिक भावनामा जोड्ने प्रयासले अरूलाई पनि प्रेरणा दिएको छ । विगत एक वर्षमा ७० जनाभन्दा बढीले समाजको आजीवन सदस्यता लिनुले पनि संस्थाप्रतिको आकर्षण र विश्वास बढिरहेको संकेत गर्छ ।

समाज स्थापनाकालदेखि नै विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको र मोरङ्गेलीहरूको सहयोगका कारण कार्यक्रमहरू सफल हुँदै आएको बताइएको छ । यसको अर्थ केवल संस्थाले कार्यक्रम गरिरहेको छैन; समुदायले संस्थालाई अपनत्व दिएको छ । यो अपनत्व सामाजिक संस्थाको सबैभन्दा ठूलो पूँजी हो ।

सेवा निरन्तर हुँदा संस्थाप्रति विश्वास बढ्दै गएको छ । गत वर्ष पहिलो मोरङ समाज दिवसका अवसरमा मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन गराइएको थियो । पशुपतिनाथमा आरतीसमेत आयोजना गरिएको थियो । यस वर्ष मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको सेवामा समर्पित संस्थालाई सहयोग गरिएको छ ।

यी गतिविधिलाई हेर्दा समाजले आफ्नो वार्षिक उत्सवलाई क्रमशः सामाजिक सेवासँग जोड्दै लगेको देखिन्छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, दीर्घकालीन र प्रभावमुखी बनाउन सके यसको प्रभाव अझ फराकिलो हुन सक्छ ।

कार्यक्रमको सुरुवातमा मेरिनोल नेपालकातर्फबाट दाता संस्थाका सदस्यहरूलाई न्यानो स्वागत गरिएको थियो भने, अन्त्यमा मेरिनोल नेपालको तर्फबाट खाद्यान्न वितरणको प्रशंशा गर्दै समाजप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज