बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

साउनको अन्तिम सोमबारकै दिन ‘सोमप्रदोष व्रत’को संयोग, पशुपतिमा घुइँचो

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार, ‘सोमप्रदोष व्रत’को संयोग पनि जुरेको छ । जसका कारण पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । उनीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन् ।

यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार सोमबारको दिन त्रयोदशी तिथी परेमा सोमप्रदोष भनिन्छ ।

‘प्रदोष’ भनेको सामान्यत: सूर्यास्तअघि/पछिको विशेष समय हो, जुन शिवपूजाका लागि शुभ ठानिन्छ ।

प्रदोषकाल, अर्थात् साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ । यस दिन दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने बताइन्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज