सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

३७ वर्षपछि कसरी नाफामा गयो नेपाल औषधि लिमिटेड ? यस्ता छन् कारण

काठमाडौं । ३७ वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा गएको छ । ०८१–८२ मा १० करोड तीन लाख ७२ हजार रुपैयाँ घाटामा रहेको नेपाल औषधि लिमिटेड गत आर्थिक वर्ष ०८२–८३ मा भने तीन करोड रुपैयाँ नाफामा छ ।

औषधि बिक्री बढ्नु, सञ्चालन खर्च घट्नु तथा आफ्ना जग्गा–भवन भाडाबाट प्राप्त आम्दानीका कारण लिमिटेड ०४६ यता पहिलोपटक नाफामा गएको हो । लिमिटेडले गत आर्थिक वर्षमा आठ करोड १३ लाख ८० हजार २०५ रुपैयाँबराबरको औषधि बिक्री गरेको छ भने जग्गा तथा भवन भाडाबाट चार करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । सबै खर्च कटाएपछि तीन करोड रुपैयाँ खुद नाफा भएको लिमिटेडका महाप्रबन्धक कैलाश पनेरूले बताए । उनका अनुसार संस्थाको खातामा हाल दुई करोड रुपैयाँ नगद मौज्दात छ भने बजारबाट उठाउन बाँकी करिब ५० लाख छ ।

लिमिटेडले अघिल्लो वर्षको तुलनामा औषधि बिक्री उल्लेख्य रूपमा बढाएको छ । उत्पादित औषधि सरकारी अस्पताल, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा स्थानीय तहले खरिद गर्दै आएका छन् ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकले पनि औषधि बिक्री निरन्तर बढिरहेको देखाउँछ । आर्थिक वर्ष ०७८/७९ मा दुई करोड ५० लाख, ०७९/८० मा दुई करोड ६४ लाख १० हजार, ०८०/८१ मा तीन करोड ५४ लाख र ०८१/८२ मा पाँच करोड ५० लाखबराबरको औषधि बिक्री भएको थियो । गत वर्ष भने बिक्री आठ करोड रुपैयाँ नाघेको छ । महाप्रबन्धक पनेरूका अनुसार आगामी वर्ष नाफा थप बढ्ने गरी काम अघि बढेको छ । उनका अनुसार लिमिटेडले औषधि बिक्री गर्दा जिटुजी प्रक्रियाबाट बेच्छ जसले गर्दा छुट दिनुपर्दैन ।

सम्बन्धित समाचार

ताजा न्यूज