मङ्ल, कार्तिक ४, २०८३
19.1 C
Kathmandu

कांग्रेसको संस्थापन इतरपक्षका कमाण्डर बने शशांक कोइराला, ५५१ सदस्यीय समिति गठन

काठमाडौं । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका छोरा तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला १४औँ महाधिवेशन पक्षधर (संस्थापन इतर) समूहको नेतृत्वमा आएका छन् । आगामी २९ साउनमा हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उनी ५५१ सदस्यीय मूल आयोजक समितिका संयोजक भएका हुन् ।

पूर्वउपसभापति विमलेन्द्र निधिका अनुसार १४औँ महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो । समूहका नेताहरूका अनुसार २९ साउनसम्म संस्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।

शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सशक्त र सक्षम बनाउने उद्देश्यले आफ्नै संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख छ । पार्टीभित्र एकताका लागि निरन्तर प्रयास गर्दा पनि नेतृत्व तहबाट सार्थक पहल नभएकाले नेता–कार्यकर्ता, जनप्रतिनिधि, समर्थक र शुभेच्छुकमा बढ्दो निराशालाई सम्बोधन गर्न भेला आयोजना गर्नुपरेको दाबी विज्ञप्तिमा गरिएको छ ।

‘पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरी यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको अयोजना गरिएको छ,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा छ, ‘पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएका छौँ ।’

भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर प्रमुख, क्षेत्रीय सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलगायतलाई सहभागी हुन आह्वान गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज