काठमाडौं । एमालेले आफू नेतृत्वमा रहेका प्रदेश सरकारमा नेतृत्व परिवर्तन नगर्ने रणनीति लिएको छ । कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएर नेकपासँग नयाँ गठबन्धन बनेपछि प्रदेशमा राजनीतिक स्थायित्वको सन्देश दिन कोशी र लुम्बिनीमा वर्तमान मुख्यमन्त्रीलाई नै निरन्तरता दिने रणनीति बनाएको छ ।
कोशीमा अहिलेका मुख्यमन्त्री हिक्मत कार्की र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिन अध्यक्ष केपी ओलीले सहमति जनाएका छन् । दुवै प्रदेशमा कांग्रेस बाहिरिएसँगै एमालेले नेकपाबाट विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।
बागमतीमा भने अध्यक्ष ओलीले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको उम्मेदवार बनाउन निर्देशन दिएका छन् । बागमतीमा कायम सदस्य १०४ भएकाले बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ । नेकपाका २५ (नि. सभामुखबाहेक) र एमालेका २५ सांसद छन् । एमाले र नेकपा मिल्दा तीन सिट कम हुन्छ । बागमतीमा कांग्रेसका ३६, राप्रपाका १२, नेमकिपाका तीन, हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
कोशीमा अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबिच मुख्यमन्त्री हिक्मत कार्कीलाई निरन्तरता दिने समझदारी बने पनि प्रदेश इन्चार्ज शेरधन राईले तिलकुमार मेयाङ्बोलाई अगाडि बढाउने प्रयास गरिरहेको स्रोतको दाबी छ । यद्यपि, बहुमतको अंकगणितका कारण संसदीय दलको निर्वाचन हुने सम्भावना नरहेको एमालेका एक नेताले बताए ।
कोशी प्रदेशमा कायम सदस्य ९२ भएकाले बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । एमालेका ४० र नेकपा १७ सांसद रहेकाले दुई दलको सहजै बहुमत पुग्छ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, नेकपाका १७, राप्रपाका चार (सभामुखबाहेक) र जसपा नेपालका एक सांसद छन् ।
लुम्बिनीका विषयमा पनि अध्यक्ष ओलीले बिहीबार उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग छलफल गरेका थिए । पूर्वमुख्यमन्त्री लीला गिरी र वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यसँगको छलफलमा नेतृत्व परिवर्तन गर्दा अस्थिरताको सन्देश जाने निष्कर्ष निकाल्दै आचार्यलाई नै निरन्तरता दिने समझदारी भएको छ ।
लुम्बिनी प्रदेश सभामा कायम सदस्य ८३ हुँदा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । एमाले र नेकपा मिल्दा एक सिट कम हुन्छ । एमालेका २९ र नेकपाका १२ ( सभामुखबाहेक) छन् । लुम्बिनीमा कांग्रेसका २७, राप्रपाका चार, जसपा नेपालका पाँच, जनमतका तीन, जनमोर्चाका एक र स्वतन्त्र एक सांसद छन् ।
