काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष इतरपक्षले अघि सारेको पाँच बुँदे प्रस्तावको एउटा बुँदाबाहेक अन्य बुँदामा सकारात्मक देखिएको छ । १४औं महाधिवेशबाट निर्वाचित तर विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई एकमुष्ट वर्तमान कार्यसमितिमा समायोजन गर्नुपर्ने प्रस्ताव स्वीकार्न नसकिने संस्थापन पक्षले बताएको छ ।
अन्य प्रस्तावमा भने सहमति खोज्न सकिने संस्थापन पक्षले स्पष्ट पारेको छ । सबैलाई एकमुष्ट समायोजन गर्न विधानले नदिने कांग्रेस महामन्त्री गुरुराज घिमिरेले बताए । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षका १११ जना केन्द्रीय सदस्य कार्यसमितिमा थपेर पार्टी भित्रको विवाद मिलाउनुपर्ने इतरक्षको अडान छ ।
संस्थापन इतरले राखेका अन्य चार प्रस्तावहरूप्रति भने संस्थापन पक्ष सकारात्मक देखिएको छ । सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउनुपर्ने प्रस्तावमा संस्थापन पक्ष लचिलो देखिएको छ ।
संस्थापन इतरले राखेको १५औं महाधिवेशनको नयाँ कार्यतालिका घोषणा गर्ने प्रस्तावमा पनि संस्थापन पक्ष लचिलो छ । वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने प्रस्तावमा पनि संस्थापन पक्ष तयार देखिएको छ ।
सदस्यता अद्यावधिकको विषयमा समेत इतरपक्षसँग छलफल गर्न सकिने निष्कर्षमा संस्थापन पक्ष पुगेको छ ।
