बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

जापानलाई पराजित गर्दै पाँच पटकको विश्वविजेता ब्राजिल अन्तिम १६ मा प्रवेश

एजेन्सी । विश्वकपको निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । खेलको ९५औं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले गरेको गोल ब्राजिलका लागि निर्णायक बन्यो ।

अब ब्राजिलले अर्को चरणमा नर्वे वा आइभोरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ । खेलको पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

ब्राजिलका ड्यानिलोले गरेको एउटा गल्तीको फाइदा उठाउँदै जापानका काइशु सानोले गोल गरेर टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफभरि ब्राजिलले जापानको बलियो रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नुपरेको थियो ।

दोस्रो हाफमा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले रणनीति परिवर्तन गरेर लुकास पाक्वेटाको ठाउँमा युवा स्टार एन्ड्रिकलाई मैदान पठाएका थिए ।

यही रणनीतिका कारण खेलको ५५औं मिनेटमा कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको केहीबेरमै भिनिसियस जुनियरले डिफेन्डरको खुट्टाको बीचबाट बल छिराएर उत्कृष्ट प्रहार गरे पनि बल पोलमा लागेर फर्किएको थियो ।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित जस्तै देखिएकोबेला इन्जुरी समयको अन्तिम सेकेन्डमा जापानका आओ तानाकाले आफ्नै डिफेन्स एरियामा बल गुमाएपछि मार्टिनेलीले सटिक गोल गर्दै ब्राजिललाई सनसनीपूर्ण जित दिलाए ।

सम्बन्धित समाचार

ताजा न्यूज