काठमाडौं । नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस देशभर मनाउँदै छ । एमालेले मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना गरेको छ । मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।
जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेता हुन्।
एमाले अध्यक्ष केपी ओलीले के भने ?
आज मदन – आश्रितको ३३ औं स्मृति दिवस। ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं।
घाउहरु पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदारहेछन्, अभावहरू झन् गहिरिँदारहेछन्। जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा – सबै हुनुहुन्थ्यो। जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। मदन भण्डारी हाम्रो आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा हुनुहुन्थ्यो। त्यस दौरानमा उहाँको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको छ। जनताको बहुदलीय जनवाद, जसले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दियो, आन्दोलनलाई बलियो आवाज दियो र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्याउने मार्गचित्र दियो। त्यसलाई हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानका रूपमा अघि बढायौं। पछिल्लो दशकमा हाम्रो त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको थियो।
मदन भण्डारी – जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो।
मदनलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ। जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन, र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ।
प्रिय मदन- आश्रित, हार्दिक श्रद्धाञ्जली, उच्च सम्मान !
पूर्वराष्ट्रपति एवं मदन भण्डारीपत्नी विद्यादेवी भण्डारीले के भनिन् ?
आज जेठ ३ गते, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता तथा प्रखर राष्ट्रवादी जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको सिँढी चढाउन अभूतपूर्व योगदान गर्नुभएको थियो । जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद (जबज)’ले लोकतान्त्रिक माध्यममार्फत मुलुकमा सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ ।
विगतका उपलब्धिहरूसँगै वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै हामी अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ । अहिले देखिएका चुनौतीहरूको सामना गर्नेका लागि महत्वपूर्ण शर्त भनेको सुदृढ सांगठानिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छन् । साथै जनअपेक्षा, सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनता बिचको सम्बन्धलाई थप मजबुत बनाउन आवश्यक छ । यसैगरी, सिद्धान्त र व्यवहार बिच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्दछ । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो भन्ने सत्यलाई आत्मसात् गर्दै यसलाई अझ मजबुत बनाउनु पर्दछ ।
जननेता मदन भण्डारीले देखाउनुभएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ । मदन–आश्रित स्मृति दिवशले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् ।
