आइत, कार्तिक ९, २०८३
21.1 C
Kathmandu

प्रधानमन्त्रीको नाम लिएर धम्की दिने व्यक्तिबारे तुरुन्त खबर गर्न अपिल

काठमाडौं । प्रधानमन्त्रीको नाम लिएर स्वार्थपूर्ति गर्ने प्रयास गर्ने जुनसुकै व्यक्तिबारे तत्काल सुरक्षा निकायमा जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अपिल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रेस विज्ञप्ति जारी गरी जुनसुकै व्यक्ति भए पनि तत्काल जानकारी गराउन अपिल गरेका छन्। ‘कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिँदै फोनमार्फत वा भेटमा धाकधम्की दिने, बार्गेनिङ गर्ने वा नाजायज दबाब सिर्जना गर्ने कार्य गरेमा त्यस्ता भ्रममा नपर्न र सोको जानकारी तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन कार्यालय सम्पूर्णमा हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

केही दिनअघि दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत धम्की दिएका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिइसकेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज