काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसदमै अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रम विपक्षी दलहरूको विरोध र बहिष्कारबिच पारित भएको छ ।
प्रतिनिधिसभामा कांग्रेसको निरन्तरको विरोध तथा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बहिष्कारका बाबजुद पारित नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने कांग्रेस र नेकपाले नै समर्थन गरेपछि बहुमतबाट पारित भएको छ ।
नीति तथा कार्यक्रम पारित गर्दा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले प्रधानमन्त्रीको उपस्थिति र जवाफ खोज्दै निरन्तर उठेर विरोध गरेका थिए । अन्य विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक नै बहिष्कार गरेका थिए ।
विपक्षीको विरोध र बहिष्कारबिच सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । विपक्षीहरूले बहिस्कार गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा सभामुख अर्यालले गरेका छन् । सभामुख अर्यालले प्रधानमन्त्रीलाई रुलिङ नगरेकामा आलोचना भएको छ ।
यसैबीच, नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभामा भने कांग्रेस र नेकपाले समर्थन गरिदिएका छन् । जसकारण राष्ट्रिय सभामा पनि बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको छ । जबकि, राष्ट्रिय सभामा सत्तारुढ दलको उपस्थिति छैन ।
