मङ्ल, कार्तिक ४, २०८३
23.1 C
Kathmandu

विदेशमा रहेका नेपालीका लागि सत्तारुढ रास्वपाले सदस्यता अभियान थाल्ने

काठमाडौं । सत्तारूढ रास्वपाले विदेशमा रहेका नेपालीको ज्ञान, सिप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना गर्ने भएको छ। ‘समर्थक भएर संसद् बदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ भन्ने नाराका साथ रास्वपाले यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।

यसले नेपालमा भित्र्याउन सकिने सकिने पुँजी तथा लगानी अवसरहरूको पहिचान, विदेशमा सिकिएका सिपलाई नेपाल फर्केर प्रयोग गर्न सकिने क्षेत्रहरूको सूचीकरण, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास, स्वदेश फर्कने लगानीकर्ताका लागि मार्गदर्शन हुने रास्वपाको विश्वास छ। प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सुरु गरिने प्रवास नेपाली सम्पर्क विभागका संयोजक दीपक बोहराले जानकारी दिए ।

रास्वपाले प्रवासमा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने भएको छ। प्रवासलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिने बोहराले बताए। प्रवासमा रहेका नेपालीलाई औपचारिक रूपमा रास्वपासँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तीमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएको छ। सदस्यता केवल संख्या मात्र नभई, देशको निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिताको ढोका हुने रास्वपाको विश्वास छ। प्रवास विभागकै नेतृत्वमा केन्द्रीय कार्यालय भवन पनि निर्माण गरिने भएको छ। यसमा विश्वभरका प्रवासी संगठनहरूको सक्रिय सहभागिता रहने विश्वास उनको छ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिने प्रतिबद्धता पनि उनले जनाएका छन्। ‘गैरआवासीय नेपालीको ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्न रास्वपा प्रतिबद्ध छ। विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ,’ बोहराले भनेका छन्।

नेपालका उत्पादन र सेवाहरूलाई विश्व बजारसँग जोड्न विस्तृत सूची तयार गर्ने नीति पनि विभागले लिएको छ। जसमा कृषि उत्पादन हस्तकला तथा सांस्कृतिक वस्तु, जडीबुटी तथा प्राकृतिक उत्पादन, आइटी तथा डिजिटल सेवा, पर्यटनसँग सम्बन्धित सेवा प्याकेजहरू रहनेछन्। यसका लागि ‘जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन’ अभियान सञ्चालन गरिने भएको छ।

प्रवासमा रहेका नेपालीको आपत्कालीन समस्या समाधानका लागि हप्ताका सातै दिन २४सै घण्टा समन्वय प्रणाली स्थापना गरिने पनि उनले बताएका छन्। जसबाट श्रमिक र विद्यार्थीलाई सहायता, कानुनी सहयोग, अस्पताल-आपत्कालीन सहयोग, दूतावास समन्वय, अन्तर्राष्ट्रिय छवि निर्माणमा काम गरिने भएको छ। नेपालको नयाँ राजनीतिक, आर्थिक र सामाजिक सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न गतिविधि सञ्चालन गर्ने पनि नीति लिएको छ। अन्तर्राष्ट्रिय सेमिनार तथा संवाद कार्यक्रम, नीति बहस, थिंकट्यांक सहकार्यजस्ता कार्यक्रम गरिने भएको छ।

प्रवास नेटवर्कमार्फत नेपाललाई सुरक्षित, आकर्षक र सांस्कृतिक गन्तव्यका रूपमा प्रस्तुत गर्नसमेत काम गर्ने भएको छ। जसमा विदेशी पर्यटकलाई आकर्षित गर्ने अभियान, डिजिटल प्रमोसन, डिप्लोपा टुरिजम एम्बास्डर प्रोग्रामलगायत पर्नेछन्। ‘संसारका विभिन्न देशहरूमा पसिना बगाइरहनुभएका नेपाली केवल रेमिट्यान्सका स्रोत मात्र होइनन्, नेपालको भविष्य निर्माणका सहनिर्माता पनि हुन् भन्ने मूल भावनाका साथ उहाँहरूको अनुभव, सिप, दृष्टिकोण र नेटवर्कलाई उपयोग गरी देश सुधारको वास्तविक शक्ति बनाउने उद्देश्यसहित आगामी दिनमा प्रवासलाई केन्द्रमा राखेर अभियानहरू सञ्चालन गरिनेछ,’ बोहराले भनेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज