काठमाडौं । भारतले आफ्नो इनर्जी एक्सचेन्ज मार्केट (आइइएक्स)बाट ३ वैशाख (१६ अप्रिल)देखि नेपाललाई दैनिक १६ घण्टा मात्रै विद्युत् दिने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सोमबार आइइएक्सबाट खरिद गर्न पाउने विद्युत्को अनुमतिपत्र नवीकरण गर्दै समय घटाएको हो । तर, खरिद गर्न पाउने विद्युत्को परिमाण भने बढाएको छ ।
भारतले आइइएक्सबाट चौबिसै घण्टा ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई दिएको अनुमतिपत्रको म्याद मंगलबारसम्म छ । सोमबार भारतले १ अप्रिलपछिका लागि अनुमतिपत्र नवीकरण गर्दै विद्युत् पाउने समय घटाएको हो । नयाँ अनुमतिअनुसार अप्रिल १ देखि १५ तारिखसम्म २४ घण्टा नै विद्युत् पाइनेछ । त्यसपछि भने दैनिक १६ घण्टा विद्युत् पाउने गरी अनुमति आएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
उनका अनुसार अप्रिल १६ देखि ३० तारिखसम्म बिहान दुईदेखि साँझ ६ बजेसम्म विद्युत् पाइनेछ । त्यसपछि मे, जुन, जुलाई र अगस्ट महिनामा भने बिहान चारदेखि बेलुका आठ बजेसम्म विद्युत् पाउने गरी अनुमति प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए । भारतले यसअघि राति र पिक आवरमा विद्युत् दिने गरेको थिएन । त्यो नियति यसपालि पनि दोहोरिएको हो ।
तर, भारतले नेपाललाई दिने विद्युत्को परिमाण भने बढाएको छ । यसअघि ६ सय ५४ मेगावाट विद्युत् खरिद गर्न पाइने थियो । तर, अब नौ सय ५० मेगावाटसम्म विद्युत् खरिद गर्न पाइनेछ ।
