बुध, अशोज ७, २०८३
20.1 C
Kathmandu

पूर्वप्रधानमन्त्रीत्रय देउवा, ओली र प्रचण्ड सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा

काठमाडौं । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा तानिएका छन् । यो दायरामा पूर्वमन्त्रीद्वय देउवापत्नी आरजु राणा र दीपक खड्का पनि परेका छन् । नयाँ सरकारको ‘स्पिरिट’अनुसार सम्पत्ति शुद्धीकरण विभागले उनीहरूमाथि छानबिन थालेको हो ।

पूर्वमन्त्री एवं कांग्रेस नेता खड्कालाई सिआइबीले आइतबार पक्राउ गरिसकेको छ भने ओली, प्रचण्ड र देउवादम्पतीको ठेगानामा प्रहरीमार्फत विभागले पत्र पठाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी केही बुझ्नुपर्ने भन्दै पाँचैजनालाई विभागमा उपस्थित हुन पत्र काटिएको स्रोतले बतायो । पूर्वप्रधानमन्त्री ओली जेन–जी आन्दोलनमा दमन गरेको घटनामा पक्राउ परी प्रहरी हिरासत (उपचारका लागि अस्पताल)मै छन् । शनिबार पक्राउ परेका उनलाई अदालतले पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । देउवादम्पती देशबाहिर छन् भने प्रचण्ड स्वदेशमै छन् ।

जेन–जी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित निवासमा ठुलो मात्रामा पैसाका नोट जलेका फेला परेका थिए । त्यसका भिडियो र फोटोहरूसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । ओली र प्रचण्डको निवासमा भने पैसा जलेको आरोप लगाइए पनि आधिकारिक कुनै प्रमाण भेटिएको छैन । त्यस्तै, खड्काको घरमा पनि आन्दोलनकारीले विदेशी नोट जलाएको र उडाएको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।

विभागले अनुसन्धानका लागि असोज पहिलो साता ती नेताहरूको घरमा गएर जलेका भनिएका नोटबारे निरीक्षण गरी मुचुल्का उठाएर ल्याएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज