काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।
मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन । त्यसैले आज चुनावी सभा र प्रचारका लागि राजनीतिक दल तथा तिनका उम्मेदवारहरु व्यस्त छन् ।
मौन अवधि सोमबार मध्यराति १२ बजेदेखि सुरु भएर मतदान नसकिएसम्म लागु हुन्छ । मतदानको समयमा प्रतिस्पर्धीहरुबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।
मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारहरुलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्री हटाउन लगाउँछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार मौन अवधिमा सामाजिक सन्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।
