बिहि, कार्तिक १३, २०८३
19.1 C
Kathmandu

चुनावका क्रममा फैलाइएका ४६७ भ्रामक सूचना पहिचान, कारबाही गर्न सिफारिस

काठमाडौं । निर्वाचन आयोगले चुनावका क्रममा फैलाइएका ४६७ भ्रामक सूचना पहिचान गरी तीविरुद्ध कारबाही गर्न सिफारिस गरेको छ । सिफारिस गरिएका सूचनामध्ये सबैभन्दा धेरै साइबर अपराधसँग सम्बन्धित छन् । आयोगका अनुसार गत २९ पुसयता मात्र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा २९१ वटा भ्रामक सूचना पठाइएको छ ।

ब्युरोले सिफारिस भएका सूचनाको स्रोत पहिचान गरी हटाइसकेको जनाएको छ । अटेर गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही गरिने आयोगको भनाइ छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार पहिचान भएका भ्रामक सूचना कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनसँग सम्बन्धित ७१ सूचना पहिचान भएका छन् । ती सूचना प्रवाह गर्ने व्यक्ति, संघ वा संस्थाविरुद्ध कारबाही गर्न आयोगअन्तर्गतको आचारसंहिता उल्लंघन समितिलाई सिफारिस गरिएको छ । त्यस्तै, पत्रकार आचारसंहिता उल्लंघन गर्ने ६५ भ्रामक सूचनाविरुद्ध कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार गरिएको छ । निर्वाचनका क्रममा मत सर्वेक्षण गर्ने वेबसाइटहरूको प्रसारणसमेत रोक्न आयोगले निर्देशन दिएको छ । हालसम्म ११ वटा वेबसाइटको प्रसारण बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सिफारिस गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बन्द गर्न सिफारिस गरिएका वेबसाइटहरूमा इक्जिटपोल नेपाल डटकम, पोलिमार्केट डटकम, रेटमाइनेता डटकम, भर्सेल एप, इलेक्टसन नेपालराइट डटकम, नेपपोल डटकम, नेताजी डटकम, आरआरए डटकम, नेपालभोट्स नेट, डाटाज् पत्र डटकम र २७५ सिट डटकम रहेका छन् । यसबाहेक एउटा भ्रामक सूचना कारबाहीका लागि विज्ञापन बोर्डमा पठाइएको छ ।

भ्रामक सूचना निगरानीका लागि आयोगले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)जडित ‘ई–मोनिटर प्लस’ प्रणालीमार्फत सामाजिक सञ्जालमा फैलिने मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, मालइन्फर्मेसन तथा फेक इन्फर्मेसनजस्ता भ्रामक सामग्रीको पहिचान गरिरहेको छ । सोही आधारमा प्रहरीले स्रोत पहिचान गरी संलग्न व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज