बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

दुईपटकको विश्वकप विजेता इंग्ल्यान्डलाई नेपालको सानदार प्रदर्शन, चार रनले पराजित

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट सुरुवात गरेको छ । दुईपटकको ‘च्याम्पियन’ इंग्ल्यान्डविरुद्ध आइतबार भएको खेलमा चार रनको झिनो अन्तरले पराजित भए पनि नेपाली टोली संसारको ध्यान तान्न सफल भएको छ । विश्वचर्चित क्रिकेटरहरू र चर्चित भारतीय लिग आइपिएलका टिमहरूले नेपाली टोली र खेलाडीको खुलेर प्रशंसा गरेका छन् ।

विश्वकपको दाबेदार मानिएको इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको थियो । जसलाई सहजै पछ्याउँदै नेपाल जितनजिकै पुगेको थियो । अन्तिम १२ बलमा जितका लागि २४ रन आवश्यक थियो । अन्तिम ओभर बाँकी रहँदा नेपाललाई १० रन चाहिएको थियो । तर, पाँच रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा पनि खेल कसको पोल्टामा जान्छ, टुंगो थिएन । नेपाललाई जितका लागि ६ रन चाहिएको थियो । तर, एक रन मात्रै जोड्न सकेपछि इंग्ल्यान्डले बाजी मार्‍यो । खेल हारे पनि नेपाली टोलीले संसारभरिकै क्रिकेटप्रेमीको मन जित्यो ।

नेपाल आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार दुईपटकको विजेता इंग्ल्यान्डसँग सनसनीपूर्ण खेलमा चार रनको झिनो अन्तरले पराजित भएको छ । मुम्बईस्थित वानखेडे रंगशालामा समूह ‘सी’मा इंग्ल्यान्डले पहिलो ब्याटिङ गरी २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८४ रनको विशाल योगफल बनाएको थियो । प्रत्युतरमा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ८० रन बनाउँदा इंग्ल्यान्डले अन्तिम बलमा बाजी मारेको हो ।

नेपाल र इंग्ल्यान्डबिच कुनै पनि क्रिकेटका फम्र्याटमा पहिलोपटक आमनेसामने भएका हुन् । नेपालले यसअघि टेस्ट राष्ट्र भारत, पाकिस्तान, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, आयरल्यान्ड र बंगलादेशसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिसकेको छ । टी–२० फम्र्याटकै नयाँ प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई सहजै जित हात पार्न नेपालले दिएन । लक्ष्य पछ्याएको इनिङ्सको अन्तिम बलसम्म पनि खेल इंग्ल्यान्ड वा नेपालको पक्षमा जान सक्ने अवस्थामा पुगेको थियो ।

वानखेडे रंगशालामा पुगेका हजारौँ नेपाली समर्थकले साम कुरानको अन्तिम ओभरसम्म पनि जितको आशा देखेका थिए । नेपाललाई विश्वकपमा स्तब्ध नतिजा निकाल्न ६ बलमा केवल रन बनाउनुपर्ने थियो । क्रिजमा सेट भइसकेका ब्याट्सम्यान लोकेश बम र करण केसी थिए । लोकेश र करणले अन्तिम ओभरमा पाँच रन मात्र बटुल्दा नेपाल झिनो चार रनले पराजित भयो । यसअघि सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँगको रोमाञ्चक खेलमा पनि नेपाल अन्तिम ओभरमा चुक्दा एक रनले पराजित भएको थियो ।

टी–२० वरीयतामा इंग्ल्यान्ड तेस्रो तथा नेपाल १६औँ स्थानमा छ । नेपालका कप्तान रोहित पौडेलले नेपाली खेलाडीले अन्तिम समयसम्म जितका लागि प्रयास गरेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज