काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छापेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र चाहिन्छ ।
छापिएका मतपत्रलाई पाँच हजार ८२५ बाकसमा प्याकिङसमेत गरिसकिएको छ । डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी गरी २५ जिल्लाको छपाइसहित प्याकिङ पनि सकिएको हो ।
आयोगले यसअघि जनक शिक्षाबाटै समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छापिसकेको छ । यो मतपत्र प्याकिङ र रुजुसमेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार १० लाख ९८ हजार २०० नमुना मतपत्रको छपाइ सकेर विभिन्न जिल्ला पठाइसकिएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी १२ फागुनमा गर्ने आयोगको तयारी छ ।
