बैतडी । बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी छन् ।
बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ ।
यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको नाम छ ।
अन्य मृतकमा बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।
पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेर कच्याककुचुक भएको छ ।
