शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

भाबी प्रधानमन्त्रीका दुई दाबेदार एउटै क्षेत्रमा, ओली र बालेनमध्ये कसले जित्ला ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धा गर्न काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह झापा ५ गएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । दुबै नेतालाई भावी प्रधानमन्त्रीको रुपमा सम्बन्धित दलले अघि सारेका छन् । अ‍ोलीलाई एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ भने बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेको छ । त्यसकारण पनि यो चुनावी प्रतिस्पर्धालाई निकै रोचक र अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओलीको लामो विरासत रहेको झापा बालेनका लागि नौलो हो । तर नयाँ पुस्ताले खोजेको रुपान्तरणको साहस र ऊर्जा बोकेर गएका छन् बालेन । झापाको राजनीतिक अवस्थिति र खेलोफड्को भने बालेनका लागि त्यो ऊर्जाभन्दा बढ्ता बोझिलो बन्ने खतरा पनि रहेको छ ।

संसदीय चुनावमा आठौँपटक उम्मेवार बनेका ओलीका लागि यसपटक बालेन अहिलेसम्मकै कडा प्रतिस्पर्धी बन्नसक्ने देखिन्छ । २०६४ मा तत्कालीन माओवादी उम्मेदवार विश्वदीप लिङदेनसँग पराजित भएका ओली त्यसअघि र पछिका बाँकी ६ वटा चुनावमा जित हासिल गरेका थिए ।

फागुन २१ को चुनावमा पनि ओलीले बालेनलाई ३० हजारभन्दा बढी मतान्तरले पराजित गर्ने दाबी गरेका छन् । २०७९ को चुनावमा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डब अधिकारीलाई २९ हजारभन्दा बढी मतान्तरले पराजित गरेको स्मरण गर्दै मंगलबार उम्मेदवारी दर्ता गर्ने क्रममा पत्रकारहरूमाझ ओलीले भने, ‘अघिल्लो चुनावको मतपरिणाम तपाईंहरूलाई थाहै छ । डबलभन्दा बढी मत ल्याएर मैले चुनाव जितेको थिए । योपटक पनि २९–३० हजारभन्दा बढी भोटको फरकमा मैले चुनाव जित्छु ।’

बालेनभन्दा १ घण्टा पछि उम्मेदवारी दर्ता गराउन पुगेका ओलीको चुनावी र्‍याली अघिल्ला दुई चुनावमाभन्दा सामान्य थियो । तर, बालेन ठूलो र्‍यालीसहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचनको कार्यालय दमक नगरपालिका–८ स्थित कृषि भवन पुगेका थिए । रास्वपा कार्यकर्ता तथा समर्थकहरूको ठूलो भिडका कारण बालेनलाई करिब एक किलोमिटर सडक पार गर्न झण्डै ४५ मिनेट लागेको थियो । पञ्चेबाजासहितको बालेनको चुनावी र्‍यालीले दमकको ६ लेन सडक पूरै ढाकेको थियो । समर्थक, कार्यकर्ता र सञ्चारकर्मीहरूले पटकपटक आग्रह गरे पनि बालेनले उम्मेदवारी दर्ता अघि र पछि कुनै प्रतिक्रिया जनाएनन् ।

यो क्षेत्रमा नेकपाबाट युवा नेता रञ्जित तामाङ उम्मेदवार बनेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज