काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनको सुरक्षाका लागि आवश्यक सबैजसो पूर्वतयारी पूरा भएका छन् । निर्वाचनस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण, सुरक्षाकर्मीको संख्या निर्धारण, निर्वाचन प्रहरीको छनोट तथा तालिम र तीनवटै सुरक्षा निकायबिच संयुक्त अभ्यासलगायतका काम अन्तिम चरणमा पुगेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा रहेको केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत उक्त योजनाअन्तर्गत निर्वाचनपूर्व, निर्वाचनका दौरान र निर्वाचनपश्चात् गरी तीन तहको सुरक्षा कार्यविधि तय गरिएको छ ।
तीमध्ये पहिलो तहको सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार पहिलो तहको सुरक्षा कार्यविधि पूरा भएको छ ।
स्वीकृत सुरक्षा योजनाअनुसार निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर गरी कुल तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी परिचालन गरिनेछ ।
नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना खटाइने निर्णय भएको छ ।
