काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर्ने भएका छन् । साथै, उनले देउवा समूहको बैठकमा अब सहभागी नहुनेसमेत स्पष्ट पारेका छन् ।
उनी थापालाई पार्टी सभापति स्वीकार गरेर देउवा समूहसँग समन्वय गर्ने भूमिकामा लाग्ने छन् । डा. शेखरले निर्वाचन आयोगको निर्णयसँगै देउवा समूहको बैठकमा नजाने बताएका हुन् । बुधबारको सानेपा बैठकमा शेखर समूहका जीवन परियार र दिनेश कोइराला उपस्थित थिएनन् । शेखर समूहले आइतबार दिउँसो १ बजे आफ्ना उपलब्ध नेताहरूको बैठक बोलाएको छ ।
यसैबिच डा.शेखरले सडक आन्दोलनको निर्णय रोकेका छन् । सानेपामा औपचारिक बैठक बस्नुअघि उनले आफ्नो समूहका नेताहरूको बैठक राखेर विशेष महाधिवेशनको आधिकारिकतालाई कानुनी प्रक्रियाबाट हेर्ने बाटो खुला रहेको र हाल सडक आन्दोलन आत्मघाती हुने बताएका थिए ।
शेखरले बैठकमा विशेष महाधिवेशनमा सहभागी ५४ प्रतिशतको आधिकारिकता भेरिफाई गर्नुपर्नेमा जोड दिँदै भनेका थिए, ‘५४ प्रतिशत कसले भेरिफाई गर्यो ? त्यसकारण न्यायिक उपचार उचित हुन्छ । तर, सडक संघर्षमा जाने वा नयाँ पार्टी खोल्ने गल्ती गर्नुहुँदैन ।’
कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगले शुक्रबार टुंग्याए पनि असन्तुष्ट देउवा पक्ष आधिकारिकता दाबी गर्दै आइतबार सर्वोच्च अदालत जाने भएको छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय अस्वीकार गर्दै कानुनी लडाइँमा जाने निर्णय गरेको हो ।
मुद्दा–मामिलाको जिम्मा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । ‘आयोगको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा–मामिला एवं अन्य कानुनी काम–कारबाही गर्न निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गरिएको छ,’ देउवा समूहका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले भने । देउवानिकट वरिष्ठ अधिवक्ता खम्मबहादुुर खाती, शेरबहादुर केसीलगायतको टिमले तयार गरेको रिट आइतबार सर्वोच्चमा दर्ता गर्ने देउवा समूहको तयारी छ ।
