काठमाडौं । उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न गरेका छन् ।
काठमाडौँको बौद्धमा बैठकमा कुलमानले पैसा खाएर समानुपातिकतर्फ टिकट बेचेको आरोप लागेको हो । बैठकमा सहभागी एक नेताका अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा. राम लामाको नाममा केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन् ।
केन्द्रीय सदस्य प्रवीण तामाङले समानुपातिकको टिकट कुलमानले बेचेको आरोप लगाएका हुन्।
उनलाई उदृत गर्दै बैठकमा सहभागी ती सदस्यले भने, ‘समानुपातिकमा आफन्तलाई उम्मेदवार बनाइएको छ। टिकट बेचेर उम्मेदवार बनेको हुँदा राम लामाको नाम फिर्ता लिनुपर्छ ।’
उज्यालो पार्टीका नेताहरूका अनुसार राम लामा कुलमानको भान्जा पर्छन् । अर्का केन्द्रीय सदस्य शंकर ढकालले कुलमानले मेरिटोक्रेसीको कुरा गरेर नेपोटिजम गरेको आरोप लगाए।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो पार्टीतर्फका १८ जना परेका छन्।
कुलमानले आफन्त, सचिवालयमा काम गर्ने, छिमेकी लगायतको नाम समानुपातिकको बन्द सूचीमा राखेका छन् ।
