काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजिक आइपुग्दा पनि क्रियाशील सदस्यताको विवाद टुंगो लाग्न बाँकी रहेकाले महाधिवेशन पछाडि सार्नुपर्ने प्रस्ताव संस्थापन पक्षले गरेको छ ।
इतर पक्ष भने तत्काल नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाउनुपर्ने अडानमा छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
महाधिवेशनको कार्यतालिका संशोधन गर्ने एजेन्डामा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल चलिरहेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले निर्वाचनका लागि तयारी अघि बढाउनुपर्ने भएकाले पार्टी महाधिवेशन निर्वाचन पछाडि गर्नुपर्ने बताए । ‘निर्वाचन फागुनमा हुने भए वैशाख, निर्वाचन वैशाखमा सर्ने भए फागुनमा महाधिवेशन गराउन उपयुक्त हुन्छ’ उनले भने ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले भने निर्वाचन अगाडि पार्टीको नीति र नेतृत्व परिवर्तन नगरे कांग्रेसलाई ठूलो क्षति हुने जिकिर गर्छन् । उनीहरूले वर्तमान नेतृत्वकै हस्ताक्षरमा उम्मेदवार नबन्ने चेतावनी पनि दिएका छन् ।
