सोम, अशोज ५, २०८३
23.1 C
Kathmandu

कांग्रेस र एमाले संसद् पुनर्स्थापना र राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच सोमबार भेटवार्ता भएको छ । उनीहरूबिच जेन–जी आन्दोलनको धक्कापछि विघटित प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षरसहित पुनर्स्थापनाको पूरक रिट लिएर सर्वोच्च अदालत जाने सहमति बनेको छ । कांग्रेस–एमाले जेन–जी आन्दोलनपूर्वको सत्तासाझेदार दल हुन् ।

११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि ओली देउवालाई भेट्न उनकै निवास महाराजगन्ज पुगेका थिए । ओली महासचिव शंकर पोखरेलसहित पुगेका थिए भने देउवासँग पत्नी आरजु राणा देउवा पनि थिइन् । उनीहरूबिच आसन्न राष्ट्रिय सभा निर्वाचनमा सहकार्यबारे पनि छलफल भएको छ । माघ दोस्रो साता राष्ट्रिय सभाका १८ सदस्यका लागि निर्वाचन हुँदै छ ।

देउवानिकट एक नेताले दुई नेताबिच राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा मिलेर पूरक रिट लिएर सर्वोच्च अदालत जाने समझदारी भएको बताए ।

एमाले र कांग्रेसका सांसदहरूले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका छन् । पछिल्लोपटक उनीहरूले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लिएर जाने गृहकार्य गरेका हुन् । कांग्रेस सचेतक सुशीला थिङले मंगलबार पूरक रिट दर्ता गर्ने तयारी रहेको बताइन् ।

देउवा र ओलीबिच यसअघि गत १९ मंसिरमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि कांग्रेसका निवर्तमान सांसदले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसअघि नै एमालेका सांसदले रिट दायर गरेका थिए । हाल कांग्रेसका पनि बहुमत निवर्तमान सांसदले हस्ताक्षर गरिसकेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज