मङ्ल, अशोज ६, २०८३
20.1 C
Kathmandu

क्रमसंख्याविनाका क्रियाशील सदस्यता फाराम वितरणपछि कांग्रेसमा फेरि किचलो

काठमाडौं । महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसमा क्रियाशील सदस्यताको विषयमा फेरि विवाद भएको छ । क्रमसंख्या नभएका क्रियाशील सदस्यता फाराम वितरण भएपछि विवाद भएको हो । विवादपछि कांग्रेसको क्रियाशील सदस्यताका लागि वितरण भएका क्रमसंख्या नभएका सबै फाराम रद्द भएका छन् । क्रमसंख्या नराखी जिल्ला–जिल्लामा पठाइएका चार लाख फाराम रद्द भएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले जेन–जी आन्दोलनअघि २५ प्रतिशत नयाँ क्रियाशील फाराम जिल्लामा पठाएको थियो । गत केन्द्रीय समिति बैठकपछि ७५ प्रतिशत फाराम पठाइएको थियो । फाराम सिधै क्षेत्रीय कार्यसमितिमा पठाइएका थिए । केन्द्रले ६ लाख फाराम पठाइएकोमा चार लाख फाराममा क्रमसंख्या थिएन । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या नराखी जिल्ला–जिल्लामा पठाइएका फाराम रद्द गर्ने निर्णय गरेको समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए । क्रियाशील सदस्यता फाराममा क्रमसंख्या नभएको भन्दै विरोध भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार समितिको बैठक बसेर नयाँ फाराम पठाउने निर्णय गरेको हो ।

क्रमसंख्या नभएका पुराना फाइल रद्द गरेर नयाँ फाराम छपाइका लागि प्रेसमा पठाइसकिएको छ । अब २४ घण्टाभित्र क्रमसंख्या भएका फाराम जिल्ला–जिल्लामा पठाइने स्नेहीले बताए ।

महामन्त्री गगन थापा नेतृत्वको व्यवस्थापन समितिमा क्रमसंख्या नभएका क्रियाशील सदस्यताका फाराम फिर्ता लिने कि त्यसैलाई कायम गर्ने भन्ने विषयमा विवाद भएको थियो । महामन्त्री थापा र सदस्य स्नेही त्यही फाराम भर्न लगाउने पक्षमा थिए । तर, समितिका सदस्यहरू संस्थापन पक्षका योगेन्द्र चौधरी र सीता गुरुङले ती फाइल फिर्ता गरेर क्रमसंख्यासहितको नयाँ फाराम पठाउनुपर्ने अडान लिएका थिए । थापाले भेरिफाई गर्ने क्रममा क्रमसंख्या मिल्ने भन्दै त्यसैलाई मान्यता दिएर जान आग्रह गरेका थिए ।

क्रमसंख्याविनाका क्रियाशील सदस्यता फारामले समस्या निम्त्याउने भन्दै नेता शेखर कोइरालाले मंगलबार नै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । नेता मीनेन्द्र रिजालसहित देउवानिवास महाराजगन्ज पुगेर कोइरालाले क्रमसंख्याविनाका फाराम फिर्ता लिन र नयाँ फारम पठाउन माग गरेका थिए । क्रमसंख्याविनाका फारामले जटिल समस्या निम्त्याउने कोइरालाको चेतावनी थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज