काठमाडौं । कांग्रेसका विशेष महाधिवेशनका पक्षधर नेताहरूले पुस २६ का लागि तोकिएको महाधिवेशन तालिका सार्ने कुनै प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्। काठमाडौंमा आयोजित अन्तर्क्रियामा उनीहरूले केन्द्रीय समितिले पारित गरेको कार्यक्रम हेरफेर भए विशेष महाधिवेशन अपरिहार्य बन्ने बताए।
महाधिवेशन तोकिएको मितिमा हुने÷नहुने बहस चल्न थालेपछि महाधिवेशन पक्षधर नेताहरूले चेतावनी दिएका हुन् । नेता गुरुराज घिमिरेले नियमित महाधिवेशन ढिल्याउने ‘खेल’ नखेल्न आग्रह गर्दै तालिका अनुसरण नै समाधान हुने बताए।
मितिलगायतको कार्यतालिका केन्द्रीय कार्यसमितिबाट पारित गर्दै कांग्रेसले पुस २६–२८ मा १५औँ महाधिवेशन गर्ने निर्णय लिएको छ । महाधिवेशन मिति टुंगिएसँगै पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा र ध्रुवीकरणको दौड तीव्र भएको छ ।
यस्तो छ महाधिवेशनको कार्यतालिका
वडा अधिवेशन १६ पुसमा तथा गाउँ र नगरपालिकाको अधिवेशन १७ पुसमा गर्ने कार्यतालिका छ । १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशन २१ पुसमा हुनेछ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ठाउँमा जिल्ला अधिवेशन २२ पुसमा हुने कार्यतालिमा उल्लेख छ । यसबाहेक २३ र २४ पुसमा प्रदेश अधिवेशन हुनेछ भने २६–२८ पुसमा १५औँ महाधिवेशन गरिनेछ ।
