काठमाडौं । अमेरिकाले विद्यार्थीहरूका लागि अझै कडाइ गर्ने नीति लिएको छ। विद्यार्थीहरूका लागि यसअघि दिइँदै आएको विभिन्न सुविधाहरू खारेजीको समेत प्रस्ताव गरिएको छ।
अहिलेसम्म अमेरिकामा पढ्ने आप्रवासी विद्यार्थीहरूले कुनै न कुनै तरिकाले बसाइँ लम्ब्याउन सक्छन्। अबको २ महिनापछि भने अमेरिका बस्न विद्यार्थीहरूका लागि निश्चित समय मात्र हुन्छ।
नयाँ कानुनबारे आफ्ना प्रतिक्रिया दिन सेप्टम्बर २९ सम्मको समय तोकिएको छ। त्यस्तै आप्रवासन सम्बन्धी सेवा दिने विभाग युएससिआइएसको फारामहरू सम्बन्धी प्रतिक्रिया दिनको लागि अक्टोबर २७ सम्मको समय रहेको छ । सरोकारवाला निकायहरू र जनताबाट आएका प्रतिक्रियाका आधारमा यसलाई कुनै पनि समयमा कार्यान्वयनमा लगिने अपेक्षा गरिएको छ। यसको लागि अरू २ महिना लाग्न सक्छ ।
आउँदो शैक्षिक सत्रलाई केन्द्रित गरेर विद्यार्थीहरूका लागि परिवर्तित नियमहरू आउँदैछन्।
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अमेरिका प्रवेश तथा बसाइँको अवधि अधिकतम ४ वर्षसम्म सीमित रहनेछ। तर अहिलेको नियम अनुसार आफ्नो कोर्ष पूरा नभएसम्म जति समय लागे पनि बस्न पाइन्छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विषय र कलेज परिवर्तन गर्न चाहेको खण्डमा एउटा शैक्षिक संस्थामा कम्तीमा पहिलो वर्ष पूरा नगरेसम्म कुनै विषय परिवर्तन गर्न पाउने छैनन्। तर स्नातकोत्तर तहमा अध्ययन गर्न आउने विद्यार्थीहरूले अध्ययन गर्दा आफ्नो कोर्ष परिवर्तन गर्न नपाउने नियम आउँदैछ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कुनै शैक्षिक तहबाट उस्तै अथवा तल्लो तहमा परिवर्तन गर्न नपाउने तर केबल उच्च तहमा मात्र जान पाउने नियम लगाइएको छ।
अमेरिका आउँदा अध्ययन गर्न वा तालिम पूरा भएपछि अमेरिका छोड्न पर्ने हालको ६० दिनको अवधिलाई घटाएर ३० दिन बनाइएको छ।
अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बसाइँको क्रममा आफ्नो कोर्ष पूरा नगरेको अवस्थामा त्यसलाई पूरा गर्नको लागि समय माग गरेर बेलैमा निवेदन दिनुपर्ने र सम्बन्धित व्यक्तिले निवेदन दिँदा बायोमेट्रिक संकलन गरिने प्रावधान राखिएको छ।
