बुध, कार्तिक ५, २०८३
19.1 C
Kathmandu

ओलीले रोकेपनि समूहगत छलफलमा विद्या भण्डारीका पक्षमा खुले प्रतिनिधि

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताका विषयमा छलफल नगर्न भने पनि समूहगत छलफलमा प्रतिनिधिहरू उनको पक्षमा खुलेका छन्।

शनिबार भएको समूहगत छलफलमा सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशीका प्रतिनिधिहरूले खुलेर विद्या भण्डारीको पक्षमा आफ्ना धारणा राखेका छन्।

गण्डकी, मधेसमा छिटपुटमा रूपमा मात्रै भण्डारीको पक्षमा कुरा उठ्यो भने कर्णालीमा खासै छलफल नभएको प्रतिनिधिहरूले बताएका छन्।

सुदूरपश्चिम प्रदेशको समूहमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका थिए।

उनले महाधिवेशनको हलमा नै आफ्ना फरक मत राख्न खोजे पनि अध्यक्ष ओलीले समय उपलब्ध गराएनन्। आफ्नै समूहमा राख्न भनेपछि उनले सुदूरपश्चिम प्रदेशको समूहमा फरक मत प्रस्तावका रूपमा राखे।

एक प्रतिनिधिका अनुसार सुदूरपश्चिम प्रदेशको समूहमा ५२ जना सदस्यहरूले आफ्नो धारणा राखेका थिए। बोल्नेमध्ये आधाभन्दा बढीले भण्डारीको पक्षमा धारणा राखेको एक प्रतिनिधिले बताए।

बागमती प्रदेश अन्तर्गतको समूहमा बोल्ने ९६ जना सदस्यमध्ये अधिकांशले भण्डारीको सदस्यताबारे कुरा उठाए। उनीहरूले भण्डारीको सदस्यता रोक्न नहुने नै धारणा राखेका थिए।

मधेस प्रदेशमा पूर्वराष्ट्रपति भण्डारीको विषय छिटपुट रूपमा मात्रै उठेको थियो।

कोशी प्रदेशका यज्ञ बास्तोला र तारा राईले खुलेरै विद्या भण्डारीको पक्षमा धारणा राखेका थिए।

गण्डकी प्रदेशका प्रतिनिधिहरूले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन मिल्ने, नमिल्ने प्रश्न संविधान, पार्टी विधानबाट निरूपण गरिनुपर्ने र यसैका कारण पार्टी पंक्ति विभाजित हुन नहुने धारणा सदस्यहरूले राखेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज