बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने मोदी–सी सहमति

काठमाडौं । भारत र चीन कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् । सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलन चीनको तियान्जिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबिच भएको भेटवार्तामा प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनताबिचको सम्बन्धलाई सुदृढ पार्ने समझदारी छ ।

‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रियालाई अगाडि बढाउँदै प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनताबिचको सम्बन्धलाई सुदृढ पार्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्,’ आइतबार भारतीय विदेश मन्त्रालयले जारी गरेको सातबुँदे वक्तव्यको चौथो बुँदामा उल्लेख छ । चिनियाँ पक्षले भने त्यसबारे केही बताएको छैन ।

कैलाश मानसरोवर यात्राबारे भारत र चीनका कार्यकारी प्रमुखबिच भएको समझदारी उनीहरूबिच नेपालको लिपुलेक नाका हुँदै दुई देशबिचको व्यापार विस्तार गर्ने पूर्वसहमतिकै निरन्तरता मानिएको छ । जबकि लिपुलेक नाका हुँदै दुई देशबिचको व्यापार विस्तार गर्ने उनीहरूको सहमतिप्रति शनिबार चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् ।

३ भदौमा दुई देशबिच लिपुलेक नाका हुँदै व्यापार विस्तारसम्बन्धी सहमति भएको थियो । सीसँगको भेटवार्ताको सहमति ३ भदौकै सहमतिको निरन्तरता हो कि होइन, भारतीय विदेश मन्त्रालयको वक्तव्यमा केही पनि उल्लेख छैन । शिखर सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबिच करिब ५० मिनेट द्विपक्षीय छलफल भएको थियो ।
यद्यपि, भारत र चीनबिच डिसेम्बर २०२४ मै २०२५ को गर्मीमा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न सहमत भएको थियो । त्यसपछि हालैका केही महिनामा भारतीयहरूले भारतबाट सिधै र नेपाल हुँदै कैलाश यात्रा गरेका छन् । भारतीय यात्रुहरू भारतबाट सिधै वा नेपाल भएर पनि कैलाश यात्रामा जाने गर्छन् ।

उनीहरू भारतीय सीमा सिक्किमको लद्दाख (नाथुला नाका) र लिपुपासबाट सिधै तिब्बत प्रवेश गरेर कैलाश यात्रामा जाने गर्छन् । मोदी–सीबिचको पछिल्लो समझदारीले लिपुपासबाट हुने कैलाश यात्रा सहज बनाउनेछ । यस्तै, भारतीय नागरिक नेपाल हुँदै हुम्लाको हिल्सा, रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका भएर कैलाश यात्रा जाने गरेका छन् ।

तर, गत असारमा रसुवागढीमा रहेको मितेरीपुल बगाएपछि यो मार्ग अहिले बन्द छ । बर्सेनि हजारौँको संख्यामा भारतीयहरू नेपाल भएर कैलाश मानसरोवर यात्रा जाने गरेका छन् । कैलाश यात्राका लागि लिपुपास प्रयोग गर्ने विकल्पले धेरै भारतीयलाई नेपाल भएर जानुपर्ने बाध्यता हट्न सक्छ ।

यद्यपि, कोरोना महामारी र सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको झडपसँगै भारतीय नागरिकको कैलाश यात्रा रोकिएको थियो । सन् २०२५ मा मात्र यो खुलेको छ । यस्तै, कोरोना महामारीपछि भारत–चीन सिधा उडान पनि रोकिएको छ ।दुई देशबिचको सम्बन्धमा देखिएको प्रगति उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको छ । दुई देशबिच सिधा उडान पनि सुरु गर्दै र्छौँ ।’

सम्बन्धित समाचार

ताजा न्यूज