बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

विद्या भण्डारीको सन्देश– एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको बताएकी lछन् । उनले पार्टीले आफूलाई रोक्न खोजेपनि निरन्तर काम गरिरहने पनि बताइन् ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले भनिन्, ‘नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको छ । त्यसको मर्म र भावनाअनुसार हामीले काम गर्ने हो ।’ उनले त्यो भावनाअनुसार काम भयो कि भएन भनेर समीक्षा गर्ने समेत बताइन् ।

‘हुन त मेरो सदस्यताबारे प्रश्न छ । साथीहरू नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा के भन्न चाहन्छु भने मैले नेकपा माले हुँदादेखि ०३७ सालमा सदस्यता लिएकी हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने वेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर तपाईं जानैपर्छ भन्यो, शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्ने गरी गरेकी छु । इतिहासको पानाहरू खुला छन्,’ एमालेकै कार्यकर्ता भएर काम गर्ने भन्दै उनले अगाडि भनिन्, ‘सार्वजनिक रूपमा भनेकी छु, म आलोचनाभन्दा बाहिर छैन । सबैले मलाई आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यका आधारमा हुनुपर्छ हरेक कुराहरू । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु ।’

एमालेमा आफ्नो सदस्यता नै रोकेका अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न पूर्वराष्ट्रपति विद्या भण्डारी संगठित रूपमै मैदानमा उत्रिएकी छिन् । एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै भण्डारीले ओली जनताको बहुदलीय जनवाद कार्यान्वयनमा असफल भएको इंगित गर्दै प्रतिस्पर्धाको मैदान नछाड्ने घोषणा गरेकी हुन् ।

ओलीले ६ साउनमा केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर भण्डारीको सदस्यतामै रोक लगाएका थिए । तर, भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेर नेतृत्वका लागि पाइला चालेकी हुन् ।

उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी समिति र केन्द्रीय समितिका केही नेताका साथै धेरै पार्टी सदस्य र नेता–कार्यकर्ता भएको बागमती प्रदेश र काठमाडौं जिल्ला अध्यक्षसहितलाई साथमा राखेर उनले ओलीसँग प्रतिस्पर्धाका लागि संगठित रूपमै मैदानमा आएको जनाउ पनि दिइन् ।

आगामी २० देखि २२ भदौमा ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुँदै छ ।

सम्बन्धित समाचार

ताजा न्यूज