काठमाडौं । संघीय निजामती विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्ने व्यवस्थामा गरिएको छलछाममा मुछिएका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडामाथि पदबाट राजीनामा गर्न दबाब बढेको छ । संसदीय छानबिन समितिले सभापतिको हैसियतमा रहेकाले उनलाई नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामाको दबाब बढेको हो ।
खतिवडाले राजीनामा नदिए पार्टीमाथि नै प्रश्न उठ्ने भन्दै कांग्रेसभित्रैबाट पनि पद छाड्न दबाब बढेको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जिम्मेवार व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने विषयबारे प्रतिवेदनले नै बोलिसकेपछि सम्बन्धित व्यक्ति आफैँले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । इतर पक्षका नेता गुरुराज घिमिरेले खतिवडाले नैतिकता नदेखाए पार्टीले निर्देशन दिएर भए पनि राजीनामा गराउनुपर्ने बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा र राप्रपाले पनि खतिवडाको राजीनामा माग गरे । कांग्रेसमै पनि संस्थापन र इतर दुवै खेमाले उनलाई राजीनामाको दबाब बढाएका छन् ।
छानबिन समितिले खतिवडालाई राजनीतिक र नैतिक रूपले दोषी ठहर्याएर मंगलबार सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको थियो ।
