आइत, कार्तिक ९, २०८३
16.1 C
Kathmandu

माधव–झलनाथ विवाद चुलियो

काठमाडौं । एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको विवाद चुलिएको छ । पार्टी विभाजनपछि महाधिवेशनसमेत गरेको एकीकृत समाजवादीमा एमालेबाट व्रिदोहको औचित्य पुष्टि हुन नसकेको विषय उठेको छ ।

अध्यक्ष नेपाल र सम्मानित नेता खनालले एकअर्काप्रति सार्वजनिक रुपमै अभिव्यक्ति दिन थालेका छन् । सतहमै देखिएको विवाद झन बढ्ने संकेत देखिएको छ ।

खनालले एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको भन्दै गत बिहीबार एक टेलिभिजन कार्यक्रममा अभिव्यक्ति दिएपछि निरन्तर वादप्रतिवाद चलिरहेको छ । ‘जतिवेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म,’ खनालले भनेका थिए, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’

झलनाथले दिएको अभिव्यक्तिबारे थाहा पाएपछि अध्यक्ष नेपाल थामिएनन् । शुक्रबार विराटनगर पुगेका उनले खनालको अभिव्यक्तिको जवाफ फर्काउँदै पार्टी छाड्न चेतावनी दिएका थिए । ‘एमाले फुटाएर गल्ती गरियो भन्ने कुरा उहाँ (खनाल)ले बोल्नुभएको हो भने उहाँलाई पार्टीमा बस्ने नैतिकता छैन, उहाँले एमालेमै फर्किएको राम्रो ।’ नेपालले खनाल पार्टीका निर्णय उल्लंघन गर्नेमा ‘नम्बर वान’ रहेको आरोप पनि लगाए ।

नेपालले एमालेमै फर्किन भनेपछि खनाल थप प्रतिवादमा उत्रिए । शनिबार केही पत्रकारमाझ उनले नेपाललाई तल्लो स्तरको चिन्तन रहेको नेताको संज्ञा दिए । ‘उहाँ (नेपाल)ले मेरो अन्तर्वार्ताको कुरालाई सुनेर पार्टी छाड् भनेर आदेश दिनुभएछ । उहाँले आदेश दिनेबित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ ? नेताले छाड्छ ?’ खनालले भने, ‘मैले त भव्य नेताका रूपमा हेरेको थिएँ उहाँलाई । तर, यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ ।’

यति मात्रै होइन खनालले उल्टै नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए पद त्याग्न पनि भने । त्यस्तै, विद्रोहको पुष्टि नगर्न नसके हामी गलत हुन्छौँ, वैचारिक, सैद्धान्तिक छलफल गरौँ भनेको प्रस्टीकरण पनि दिएका छन् ।

नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि पार्टी नेतृत्व त्याग्नुपर्ने वा नपर्ने भन्ने विषयमा पार्टीमा दुई धार पुन: सतहमा देखिएको छ । नेपाल पक्षले राजनीतिक प्रतिशोधमा मुद्दा दायर गरेकाले प्रतिवाद गरेर जानुपर्नेमा जोड दियो भने खनाल–भुसाल पक्षले नैतिकता देखाउनुपर्ने आवाज उठाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज