शनि, कार्तिक १५, २०८३
15.1 C
Kathmandu

मेयर फोरमको प्रतिनिधिमण्डलले भेट्यो शहरी विकासमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेर काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनसहितका विभिन्न माग राखेको छ ।

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंहलाई भेटेर मेयर्स फोरमले फोहोर व्यवस्थापनमा प्रभावकारी कार्य गर्न, स्मार्ट सिटीका लागि वर्षौदेखि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न तथा बिजुली बत्तीको महसुल उठाउने बारे माग गरेको थियो ।

फोरमले सडक बत्तीको बील विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।
फोरमले आर्थिक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।
भेटका क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाए । त्यस्तै, बत्ती, स्मार्ट सिटीको जग्गा रोक्कालगायतका विषयको समस्या पनि छिट्टै समाधान गरिने आश्वासन दिए ।
काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् । मेयर्स फोरमले आफ्ना माग लिएर उपप्रधानमन्त्री सिंहसँग भेट्न जाने क्रममा १७ स्थानीय तहका मेयर सहभागी भएपनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन भने उपस्थित भएनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज