शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

यूरो ६ बाहेकका गाडी आयात गर्न बैंकहरूले एलसी खोल्न नपाउने

काठमाडौं । नेपालमा यूरो ६ बाहेकका चार पाङ्ग्रे गाडी आयात गर्न बैंकहरूले प्रतितपत्र (एलसी) खोल्न नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि सरकारले नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२ जारी गएको थियो । उक्त मापदण्ड अनुसार नेपालमा दुई, तीन र चार पाङ्ग्रे लघु सवारी साधनको हकमा युरो ५ र चार पाङ्ग्रे सवारी साधनको हकमा युरो ६ मापदण्डअनुसारको प्रदूषण परीक्षण विधि मान्य हुने व्यवस्था गरिएको छ । जसको आधारमा राष्ट्र बैंकले एलसी खोल्ने व्यवस्थामा संशोधन गरेको हो ।

संशोधित व्यवस्था अनुसार निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक बिक्रेताले मात्रै पैठारी गर्न पाउने व्यवस्था गरिएको छ । रिकण्डीसन, प्रयोग भइसकेका वा मापदण्ड भित्र नपर्ने सवारी साधनको आयात गर्न प्रतिबन्ध लगाइएको छ ।

तर, सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा निकाय, ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीको साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी हुने स्कुटरको हकमा ‘क’ प्रावधान अनुसारको व्यवस्था लागू हुने छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डअनुसारको एम्बुलेन्स र शीर्षक नम्बर ८७.०१ अन्तर्गत पर्ने ट्याक्टर र शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटर गाडी पैठारी गर्दा यो व्यवस्था लागू हुने छैन ।

सम्बन्धित समाचार

ताजा न्यूज