काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसदको अधिवेशन बोलाएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार आजको मन्त्रिपरिषद्को सिफारिसमा सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिवेशन आह्वान गरिएको हो ।
यसअघि सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले १९ गते २ बजे बैठकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गर्दै सूचना जारी गरेको छ । आउँदो बिहीबार २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ ।
प्रतिनिधिसभाको बैठक नयाँ भवनस्थित बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रिय सभाको संसद् सचिवालय परिसरमा रहेको कृषि समितिमा बनाइएको नयाँ हलमा बस्नेछ ।
