शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

आर्यघाटमा शबबाट मासु र हड्डी चोरी, दुईजना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटबाट जलाइरहेको शवबाट हड्डी निकालेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शवदहनमा संलग्न गणेश ढकाल र उनका सहयोगी छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले आर्यघाटबाट पक्राउ गरेको हो ।

आर्यघाटमा काभ्रेको बनेपा नगरपालिका– ९ का राम शाहीको शुक्रबार अन्त्येष्टि हुँदै थियो । शवदहन गर्न ढकाल खटिएका थिए । सोही क्रममा उनले शवबाट हड्डी निकाली अपरिचित व्यक्तिलाई दिएको मृतक शाही परिवारको आरोप छ ।

उनीहरूकै जाहेरीका आधारमा ढकाल र उनका एक सहयोगी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले बताए ।

मृतकका आफन्तका अनुसार ढकालले शवबाट हाड र मासु निकाली जोगीजस्तो देखिने अपरिचित व्यक्तिलाई दिएका थिए । त्यसबापत उनले रकमसमेत लिएको उनीहरूको आरोप छ ।

गतिविधि शंकास्पद देखिएपछि शवदहनमा सहभागी मलामी र परिवारका सदस्यले ढकालविरुद्ध प्रहरी वृत्त गौशलामा उजुरी दिएका थिए । प्रहरीका अनुसार हाड खरिद गर्ने व्यक्ति फेला पर्न सकेका छैनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज