आइत, कार्तिक १६, २०८३
21.1 C
Kathmandu

बहुप्रचारित ‘एक्सट्रिम इनर्जी ड्रिंक’का मालिकहरु किन लुकेर गर्दैछन् कारोबार ? लागूऔषधीय पदार्थका पुराना कारोबारी

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिकको प्रचार शैलीदेखेर अहिले नेपालका चल्तिका व्यवसायी उद्योगीसमेत चकित छन् । यो इनर्जी ड्रिंकले प्रचारका लागि कुनै बिजुलीका खम्बादेखि राष्ट्रिय सञ्चारमाध्यमहरु कतै पनि बाँकी राखेको छैन । उपभोक्ताको हातहातमा पुगिरहेको एक्सट्रिम इनर्जी ड्रिक जति छताछुल्ल छ, यो झोल उत्पादन गर्ने उद्योगका मालिकहरु उत्ति नै रहस्यमय ढंगबाट पर्दापछाडि छन् ।

एक्सट्रिम उत्पादक कम्पनीलाई इन्टरनेटमा एग्रोथाईफुड्स डट कममा देख्न सकिन्छ । जहाँ कम्पनीको ठेगाना, फोन नम्बर, उत्पादनहरु उल्लेख छ । तर जनताको हात हातमा पुगिरहेको यस्तो उत्पादनका उत्पादक को हुन् ? कुन उद्योगीले यसमा लगानी गरेका छन् भन्ने आधारभूत सूचना वेभसाइटमा राखिएको छैन । सामान्यतः कम्पनीले आफ्नो उत्पादनको विश्वसनीयता प्रकट गर्न आफ्ना प्रबद्र्धकहरुलाई उपभोक्ताका अगाडि राख्छ ।

अर्थतन्त्र चलायमान बनाउन ठूला लगानीकर्ता, उद्योगीहरु महत्वपूर्ण हुन्छन् । धेरै हदसम्म यस्ता लगानीकर्ताका कारण रोजगारी सिर्जना हुने भएकोले लगानीकर्ताहरु समाजका लागि सम्मानित पनि मानिन्छन् । तर, एक्सट्रिम सबैतिर पुगिरहँदा यसका लगानीकर्ता वा मालिकहरु अदृश्य बसेका छन् ।

विभिन्न सञ्चार माध्यमहरुले गरेको दावीअनुसार एक्सट्रिम इनर्जी ड्रिक बजारमा ल्याउने व्यापारिक घराना सांघाइ ग्रुप हो । जसका अहिलेका मुख्य लिडर दाजु रतनलाल संघाई र भाई पवनकुमार संघाई हुन् ।

यी दुवै दाजुभाईको विगत चाहिँ विवादित पाइएको छ । १० वर्षअघि नेपाल प्रहरीले लागु औषध तस्करविरुद्ध ‘अपरेसन स्युडो’ सञ्चालन गरेको थियो । त्यो क्रममा संघाई ग्रुपअन्तर्गतको आर्या फर्मा नामक कम्पनीका सञ्चालक रहेका रतनलाल संघाई पक्राउ परेका थिए । उनका भाई पवनकुमार संघाइ चाहिँ भारतमा लुकेर बसेका थिए ।
पुरानो घटनाअनुसार औषधिमा र लागु औषध दुवैमा प्रयोग हुने कच्चा पदार्थ आर्या फर्माले आयात गरेको थियो । उद्योगमा प्रयोग हुनेभन्दा अधिक आयातले उनीहरुको नियतमा शंका गर्दै प्रहरीले अनुसन्धान गरेको थियो ।
प्रहरीले खोजीका क्रममा ‘एमफेटामाइन’ नामक लागू औषध बनाउन प्रयोग हुने २९ लाख ७४ हजार ट्याब्लेट संघाइ समूहको प्लाष्टिक उद्योगबाट प्रहरीले बरामद गरेको थियो ।

जुन परिमाणमा ट्याब्लेटहरु त्यो बेला बरामद भएका थिए, त्यसबाट ७१ किलो एमफेटामाइन बनाउन सकिने निष्कर्ष प्रहरीको थियो । जसको मूल्य १ अर्ब ३२ करोड रहेको बताइएको थियो ।
यस घटनापछि संघाइ ग्रुपको व्यापारिक छवि नराम्ररी धुमिल हुन पुग्यो । तत्कालीन जनता बैंकले उनीहरुको सम्पत्ति लिलामीको सुचना निकाल्ने र राष्ट्र बैंकले कारोबार रोक्का पनि गरिदियो ।
तर अहिले यहि समूहले इनर्जी ड्रिकका नाममा एक्सट्रिम बजारमा ल्याएका छ । यसको अस्वभाविक प्रचारले मानिसहरुको ध्यान यसतर्फ तानिएको छ ।

आकर्षक प्याकेजिङ र व्यापक प्रचारका कारण इनर्जी ड्रिंकको प्रयोग बढ्दो छ । खेलकुददेखि मेल महोत्सव, चोकदेखि पसलसम्म व्यापक मात्रामा प्रचार गरिएको एक्स्ट्रिम इनर्जी ड्रिंकले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने सरोकारवालाहरू बताउँछन् ।

स्रोतका अनुसार एक्स्ट्रिम इनर्जी ड्रिंकले आइपिओ जारी गर्नका लागि प्रचारलाई व्यापक बनाएको छ । आइपिएललाई पनि एक्स्ट्रिमले उपयोग गरेको छ ।

इनर्जी ड्रिंकमा क्याफिन, ग्वाराना, टाउरिन, इनोसिटोल, कार्निटिन, चिनीसहित उत्तेजक पदार्थहरूसमेत मिसाइएको हुन्छ । शरीरलाई ऊर्जा दिने नाममा सेवन गरिने एक्स्ट्रिमले स्वास्थ्यमा पार्न सक्ने जनस्वास्थ्य अधिकारीहरू बताउँछन् ।

विशेषगरी कम उमेरका बालबालिका, किशोरकिशोरी तथा क्याफिनप्रति संवेदनशील व्यक्तिका लागि यस्ता पेय पदार्थको सेवन घातक हुन्छ । जसको प्रयोगले शरीरमा गम्भीर असर पार्न सक्छ । जसले ज्यानै लिन सक्ने बताइन्छ ।

इनर्जी ड्रिंक सेवन गरेपछि केही समयका लागि सतर्कता र जागरूकता बढेको महसुस हुन सक्छ । तर यसलाई शरीरलाई आवश्यक पर्ने वास्तविक ऊर्जा, पोषण वा पर्याप्त आरामको विकल्पभन्दा दीर्घकालिन जोखिम निम्त्याउँछ ।

मुटुको धड्कन बढ्ने, रक्तचापमा परिवर्तन आउने, बेचैनी हुने, हात काँप्ने तथा निद्रामा समस्या उत्पन्न हुनेजस्ता असर देखिदै जान्छ । यसका साथै, दाँतमा समस्या, तौल बढ्ने तथा दीर्घकालीन रूपमा मेटाबोलिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम रहन्छ ।

यो इनर्जी ड्रिंक ‘स्लो पोइजन’ हो । जसले मान्छेलाई जोखिम धकेलिरहेको छ । उपभोक्ताले विज्ञापनको प्रभावभन्दा तथ्य र स्वास्थ्यसम्बन्धी जानकारीलाई प्राथमिकता दिनु आवश्यक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंकको उत्पादन, बिक्रीवितरण र सेवनमा सतर्कता अपनाउन उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई आग्रह गरेको छ ।

विभागले इनर्जी डिंकमा हुने क्याफिनको मात्रा, यसको सेवनबाट पर्न सक्ने असर र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्न आग्रह गरेको छ । विभागले क्याफिनयुक्त पेय पदार्थको सेवनसम्बन्धी वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सचेतना फैलाउन पनि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज