शुक्र, कार्तिक १४, २०८३
15.1 C
Kathmandu

इनमसँग सम्बन्ध भएको न्यायाधीश फुयालको स्वीकारोक्ति, गरे यस्तो दाबी

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले बिचौलिया इनम सापकोटासँग बारम्बार भेटेको र मुद्दाको विषयमा च्याटमा कुराकानी गरेको स्वीकार गरेका छन् । ‘महाअभियोगको त्रास’का कारण ती भेटघाट भएको भन्दै आचरणसम्बन्धी गम्भीर विषयलाई सामान्यीकरणको प्रयास गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा सीमित पत्रकारसँगको भेटमा फुयालले प्रधानमन्त्री बालेन्द्र शाह र अन्य न्यायाधीशलाई पनि पटक–पटक तानेका छन् । तर, तथ्य र आधार प्रस्तुत गरेनन् ।

सापकोटाले आफू प्रधानमन्त्रीको निकट भनेकाले भेटघाट र कुराकानी गर्दै आएको फुयालले स्वीकार गरेका छन् । सापकोटासँग मुद्दाको विषयमा समेत कुराकानी हुने भए पनि त्यसमा आफ्नो बदनियत नभएको उनको दाबी छ । सापकोटाको अन्य न्यायाधीशसँग पनि सम्बन्ध रहेको दाबी गरेका फुयालले ती न्यायाधीशहरू को–को हुन् भनेर खुलाएनन् ।

‘जतिखेर हामीलाई महाअभियोगको प्रस्ताव लग्ने कुरा चल्यो, त्यतिखेर यी मान्छे (इनम) चिनजानका आधार खोज्दै विभिन्न श्रीमान्हरूकहाँ पुगेका रहेछन् । त्यसरी पुग्नेमध्ये म तेस्रो मान्छे थिएँ । हामी (न्यायाधीश)बिच कुराकानी हुँदा ‘यस्तो मान्छे छ, मसँग भेट र कुराकानी भएको थियो’ भनेँ । मभन्दा अगाडि दुईजना न्यायाधीशसँग भेट भइसकेको थियो,’ उनले भने, ‘मलाई पनि यी मान्छेले कुनै एक प्रतिष्ठित व्यक्तिमार्फत भेटे । आफू झापाको भएको बताए । उनले दमकमा मेरा नातेदारहरू चिन्दा रहेछन् । महाअभियोगमा तपाईंहरूलाई सघाउँछौँ, लाग्न दिँदैनौँ, म मेडिकल डाक्टर हुँ, एक मित्रराष्ट्रको राजदूतको प्रतिनिधिका रूपमा नेपालमा काम गर्छु, दूतावासमा काम गर्छु भनेका थिए ।’

सापकोटालाई आफूले भेट्नुको मुख्य कारण मुद्दाको विषयमा कुराकानी गर्न नभएर महाअभियोगको त्रास भएकाले त्यसबाट जोगिनका लागि भएको न्यायाधीश फुयालको प्रस्टीकरण छ । उनीहरूबिचको संवाद नयाँ पत्रिकाले सार्वजनिक गरेपछि फुयालले बिहीबार पत्रकारहरूलाई बोलाएर सापकोटासँगको भेटघाटबारे प्रस्टीकरण दिएका हुन् । आफूलगायत न्यायाधीशले नै सापकोटाविरुद्ध प्रहरी र प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको पनि उनको दाबी छ । तर, प्रधानमन्त्री कार्यालय स्रोत भने उनले दीपक भट्टलाई छुटाउन न्यायाधीशहरूसँग बारम्बार कुराकानी र ‘डिल’ गरेका विवरण भेटिएपछि उनलाई अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको बताउँछ । सुरुमा प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोधपुछ गरी पछि सापकोटालाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज