काठमाडौं । बंगालको खाडीमा विकसित अतिशक्तिशाली चक्रवात अर्नबको असरले बिहीबारदेखि शनिबारसम्म नेपालमा वर्षा र हिमपात हुने भएको छ । बिहीबार राति प्रभाव बढेर शुक्रबार र शनिबार देशका धेरै ठाउँमा पानी पर्ने तथा केही ठाउँमा ठुलो वर्षा हुने आकलन नेपाल मौसम विज्ञान विभागले गरेको छ ।
मौसमविदहरूका अनुसार वर्षा बिहीबारदेखि नै सुरु हुने छ । शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना छ । केही ठाउँमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा बढी जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
चक्रवातको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहने चेतावनी दिइएको छ ।
