काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको अन्त्येष्टि गरिएको छ । २४ दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार र आफन्तजनले तत्कालीन परिस्थितिलाई ध्यान दिँदै कुशको शव बनाएर थामी संस्कारअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका हुन् ।
थामीको अन्तिम बिदाइमा ठुलो संख्यामा सञ्चारकर्मी उपस्थित थिए । थामीको अन्त्येष्टिमा नेपाल पत्रकार महांसघका अध्यक्ष निर्मला शर्माले महासंघको झन्डा ओढाइन् । त्यस्तै, परिवारका सदस्य, आफन्त, छरछिमेकीको पनि बाक्लो उपस्थिति थियो ।
सीमावर्ती देश चीनको केरुङमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा टिमुरे पुगेका थामी बाढीमा बेपत्ता भएका थिए । उनी ९ भदौमै टिमुरे पुगेका थिए । १० भदौको बिहान उनी केरुङ प्रवेश गर्ने कार्यक्रम थियो । तर, बिहान बाढी आएदेखि उनी सम्पर्कविहीन भएका थिए । नेपाल र चीन दुवैतर्फ उनको खोजी गरिएको थियो ।
खोजमूलक पत्रकारिता गर्दै आएका थामी एक दशकभन्दा लामो समयदेखि नयाँ पत्रिकामा कार्यरत थिए ।
