काठमाडौं । भोटेकोशी बाढीमा परेकामध्ये एक हजार ४१० जनाको शव फेला परेको छ । पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेका हुन् ।
फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएकामध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना छन् ।
बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमूना संकलन गरिएको छ । संकलित डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
