काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेलसहित यूएईका दुई खेलाडीलाई आईसीसीले कारबाही गरेको छ।
नेपालका रोहित र यूएईका अदीब उसमानी र खुजाइमा तनवीरलाई आईसीसीले लेभल–१ अन्तर्गत कारबाही गरेको हो। आईसीसीले रोहित र अदीबलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ। यस्तै, तनवीरलाई १० प्रतिशत जरिवाना लगाइएको आईसीसीले जनाएको छ।
खेलको ३१औँ ओभरमा अदीप र रोहित ग्राउन्डमा वादविवादमा उत्रिएको र अम्पायरको आग्रह अस्वीकार गरेकाले उनीहरू कारबाहीमा परेको आईसीसीको भनाइ छ।
यूएईका तनवीर भने ४६औँ ओभरमा आउट हुँदा स्टम्पमा ब्याटले प्रहार गरेपछि कारबाहीमा परेका हुन्। तीनै खेलाडीको अभिलेखमा एक–एक डिमेरिट अंक पनि थपिएको छ।
