बुध, भदौ ३१, २०८३
21.1 C
Kathmandu

कांग्रेस विवाद- गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न शेरबहादुर देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् । संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई मंगलबार अपिल जारी गर्दै उनले संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हीत विपरीतको संज्ञा दिएका छन् ।

विशेष महाधिवेशनबाट आएको सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुकदर्शक भएर नबस्ने समेत बताएका छन् । ‘नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ उनको अपिलमा उल्लेख छ ।

कांग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाए ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी सिद्धान्तविपरीत हुने उनको दाबी छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थाले समेत यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उनको भनाइ छ । विशेष महाधिवेशन पक्षधरले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक नेता–कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्तिले कांग्रेस निर्माण नभई पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

उनले विशेष महाधिवेशन किन आवश्यक प¥यो भन्ने प्रश्नको जवाफसमेत आम नेता–कार्यकर्ता र जनताले अझै नपाएको उनले उल्लेख गरेका छन् । उनले आफूलाई कुनै पद वा जिम्मेवारीप्रति व्यक्तिगत लोभ नरहेको पनि स्पष्ट पारेका छन् । तर पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने बताएका छन् ।

देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित १४औँ महाधिवेशनको सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको दाबी छ ।

यस्तो छ देउवाको अपिल
प्रिय साथीहरू,
जय नेपाल।
सर्वप्रथम, हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै, बाढीमा परी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।वेपत्ता भएका व्यक्तिको खोजी र उद्दार कार्यमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गर्दछु।
१. प्राकृतिक विपत्तिको यस कठिन घडीमा कुनै राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाको भेदभाव नगरी खोज, उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका कार्यमा एकजुट भएर जुट्न म सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गर्दछु। पार्टीका सबै तहका नेता कार्यकर्तालाई विपतको यस असहज घडीमा आ-आफ्नो ठाउवाट साथ र सहयोगका लागि निर्देश पनि गर्दछु।
साथै, नेपालले सामना गरिरहेको यस महाविपत्तिमा मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय सहयोगी निकायहरू तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि अपिल गर्दछु।
विगतको दशकमा हामीले २०७२ सालको महाभुकम्प र त्यसपछि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ महामारीको समेत समाना गर्नु पर्यो। ती दुवै विपत्तीमा राजनीतिक दल, नागरिक समाज, संचार माध्यम लगायत सबै एक भएर सामाना गर्यौ र विपत्तीबाट बाहिर निस्कन सफल पनि भयौ। म सरकारलाई भोटेकोशी बाढीको महाविपत्ती पछिको पुन:स्थापना र पुनर्निर्माणमा पनि सारा नेपाली एक हुने वातावरण बनाएर अघि बढ्न अनुरोध गर्न चाहन्छु।
साथीहरू,
२. एकातर्फ मुलुक प्राकृतिक विपत्तिका कारण गहिरो शोकमा डुबेको छ भने अर्कोतर्फ मुलुककै अग्रणी राजनीतिक दल नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक मतभेदले आम नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको छ। हाम्रा अग्रज नेताहरूको त्याग, बलिदान र संघर्षबाट स्थापित नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, आधुनिक नेपाल निर्माणको प्रमुख आधार स्तम्भ पनि हो। २००७ सालदेखि आजसम्म भएका मुलुकका सबै प्रमुख राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्वदायी तथा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ।नेपाली कांग्रेस स्थापना कालदेखि नै राष्ट्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अग्रजहरूको त्याग र बलिदानबाट निर्मित पार्टी हो। यसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट निस्तेज हुन सक्दैन। नेपाली कांग्रेससँगै मुलुकमा क्रियाशील अन्य राजनीतिक दलहरूको योगदान र सहकार्यबाट नेपाल आजको अवस्थासम्म आइपुगेकोमा मलाई गर्व छ।
३. मुलुकमा केही भएन भन्नेहरूलाई मेरो एउटा मात्र अनुरोध छ- तीन दशक अघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएका परिवर्तनलाई तुलनात्मक रूपमा हेरौं।सीमित स्रोत र साधनका बीच पनि यस मुलुकले हासिल गरेको प्रगति स्पष्ट देखिन्छ।विकास, परिवर्तन र उपलब्धिको मूल्याङ्कन गर्ने सबैभन्दा प्रभावकारी आधार तुलनात्मक अध्ययन नै हो। यही दृष्टिकोणबाट विगत ३५ वर्षमा लामो राजनीतिक संक्रमणको अन्त्य गर्दै दलहरुले गरेका कामको वस्तुगत समिक्षा सहित मुलुकलाई हेर्ने प्रयास गरौं। नेपाली कांग्रेस, ने. क. पा. (एमाले), ने.क.पा. (माओवादी) लगायत क्रियाशिल राजनीतिक दलहरुले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि त्यहीँबाट प्राप्त हुन्छ।
यसको अर्थ हामीले प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्नुपर्छ भन्ने होइन। अझ धेरै काम गर्न बाँकी छ। जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न र मुलुकलाई विकसित मुलुकमा पुर्‍याउन तथा राज्यप्रतिको नागरिक विश्वास अझ सुदृढ बनाउन नयाँ सोच, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धतासहित अघि बढ्न आवश्यक छ।तर उपलब्धिको समीक्षा गर्दा इतिहास र यथार्थलाई बिर्सनु हुँदैन।
साथीहरू,
४. आज म यस अपिल मार्फत नेपाली कांग्रेसभित्र देखिएको वर्तमान परिस्थितिका विषयमा आफ्नो धारणा स्पष्ट गर्न चाहन्छु। पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र असमझदारीप्रति म गम्भीर रूपमा चिन्तित छु। पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको देखिन्छ।
पार्टी निर्माणमा लामो समयदेखि योगदान पुर्‍याएका तथा लामो संघर्ष र बलिदानबाट स्थापित भएका नेता तथा बहुसंख्यक सदस्यहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास नेपाली कांग्रेसको हितमा कदापि हुन सक्दैन। न त यसले त्यसरी अघि बढ्न खोज्ने व्यक्तिहरूकै दीर्घकालीन हित सुनिश्चित गर्न सक्छ। अवैधानिक विशेष महाधिवेशन आवश्यकता र त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई असत्य सावित गरिसकेको छ।
अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आजसम्म आम नेता–कार्यकर्ता र नेपाली जनताले पाउन सकेका छैनन्।पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचार गर्दै विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत कुनै पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कांग्रेसलाई कमजोर बनाउने प्रवृत्तिको परिचायक हो।
५. विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्त विपरीतको कार्य हो।सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न रहेको स्पष्ट पार्छ। एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारेख धाउने र अर्कोतर्फ त्यसको अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक तथा कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त देखिँदैन।
नेपाली कांग्रेसले विगतमा पार्टीभित्र तथा मुलुकमा देखिएका जटिल समस्याहरूलाई एकता, सहमति र सहकार्यका आधारभूत मान्यतामा अडिएर समाधान गरेको इतिहास छ। कथित विषेश महाधिवेशन पक्षधरहरूले विगतको परम्पराबाट पाठ सिक्न नसकेको मात्र होईन, बरूँ पार्टी भित्र सहमति हुन सक्ने प्रयाप्त सम्भावना हुदा हुदै सहमतिको अवसरलाई लत्याएर बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाइ छ। त्यसैले यस अपिल मार्फत अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु।
६. मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन। देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो।
नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाक़ी हुदापनि सहमति वेगर हतारमा कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुदा मुक दर्शक भएर बस्न सक्ने छैन।
७. तसर्थ नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु।पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दछु।
धन्यवाद।जय नेपाल।
शेरबहादुर देउवा

सम्बन्धित समाचार

ताजा न्यूज