बुध, भदौ ३१, २०८३
21.1 C
Kathmandu

हाजिर गरेर टाप कस्छन सांसद, प्रतिनिधि सभामा टिकेनन् एकतिहाइ पनि

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा १९७ सांसदले हाजिरी जनाए पनि बैठक सकिँदासम्म एकतिहाइ सांसदसमेत रहन सकेनन् । दिउँसो १ बजेर २६ मिनेटमा सुरु भएको बैठक प्रारम्भमा सांसदले भरिभराउ थियो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २७५ सांसदमध्ये १९७ जनाले हाजिरी गरेका थिए। तर, बैठक अघि बढ्दै जाँदा सांसदहरू क्रमशः सभा हलबाट बाहिरिन थाले ।

एक–डेढ घण्टापछि सभा हलमा सांसदभन्दा रित्ता कुर्सी धेरै देखिन थाले। कतिपय सांसद आफूले बोल्ने पालो सकिएपछि बाहिरिए भने कतिपय हाजिरी जनाएरै बैठकबाट निस्किएका थिए ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको पंक्तिसमेत पातलिएपछि बैठकमै सांसदको उपस्थितिमाथि प्रश्न उठ्यो। अपराह्न ३ बजेर २२ मिनेटमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सत्तापक्षको उपस्थिति कमजोर भएको भन्दै आपत्ति जनाए ।

‘सत्तापक्षका दुईतिहाइ सांसद छन्, तर बैठकमा उपस्थिति हेर्दा टीठलाग्दो छ, ३० जना पनि उपस्थित देखिएको छैन,’ दुलालले भने।

दुलालको आपत्तिपछि क्यान्टिनमा रहेका केही सांसद बैठकमा फर्किए। तर, सभा हलको उपस्थिति भने उल्लेख्य रूपमा बढ्न सकेन। बैठक सकिँदासम्म एकतिहाइ सांसद पनि मुस्किलले सभा हलमा थिए।

सांसदहरू हाजिरी जनाएर बैठकबाट बाहिरिने प्रवृत्ति संसदमा नयाँ भने होइन। हाजिरी जनाएका सांसदले एक हजार रुपैयाँ बैठक भत्ता र एक हजार रुपैयाँ यातायात खर्च पाउने व्यवस्था छ।

मंगलबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलसँग प्रश्नोत्तर गरिएको थियो ।

त्यस्तै, कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मेलनमाथि नेपालले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि अनुमोदन भएको थियो।

देश विपत्तिको अवस्थामा रहेका बेला महत्वपूर्ण विषयमा हुने छलफलमा समेत सांसदहरूको उपस्थिति कमजोर देखिएपछि संसद्को कार्यशैली र सांसदहरूको जिम्मेवारीमाथि प्रश्न उठेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज