काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको छ । एक महिनामै चामलको मूल्य प्रतिबोरा चार सय रुपैयाँसम्म बढेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अन्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ । उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन् ।
बाढीपहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ । अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । तर, सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन ।
चामलको मूल्य प्रतिबोरा ५०० रुपैयाँसम्म बढेको छ । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले पनि चामलको मूल्य अस्वाभाविक रूपमा बढेको बताए । बजारमा चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म छ ।
खाने तेलको भाउ कार्टुनमै दुई सय ३० रुपैयाँसम्म बढेको छ । सनफ्लावर तेलको प्रतिकार्टुन २७ सय ७० रहेकामा अहिले तीन हजार पुगेको छ । एक कार्टुनमा १० लिटर हुन्छ । १ सय ९० रुपैयाँ रहेको रहर दाल २ सय २० र १ सय ९० रहेको कालो दाल २ सय १० रुपैयाँ पुगेको छ । अन्य दालको भाउ पनि प्रतिकिलो कम्तीमा १० रुपैयाँ बढेको छ । मुरली मकै १ सय २५ बाट बढेर १ सय ३० रुपैयाँ प्रतिकिलो पुगेको छ । अहिले काँचो बदामको भाउ किलोमै ६० रुपैयाँ बढेको छ । एक महिनाअघि २ सय ४० रुपैयाँ रहेको काँचो बदाम अहिले ३ सय पुगेको छ ।
ताजा तरकारीको भाउ छोइनसक्नु भएको छ । अधिकांश तरकारी १ सय रुपैयाँ घटी पाइँदैन । बाढी आउनुअघि २ सय रुपैयाँ प्रतिकिलो रहेको कागती अहिले ४ सय ५० पुगेको छ । प्रतिधार्नी एक सयदेखि एक सय २० रुपैयाँ रहेको आलुको भाउ १ सय ४० देखि एक सय ६० रुपैयाँ पुगेको छ । ६०–७० रुपैयाँ प्रतिकिलो रहेको प्याजको भाउ पनि एक सय २० रुपैयाँ पुगेको छ । प्रतिकिलो ५० रहेको काँक्रो ८० र सय रुपैयाँको काउली १ सय ८० पुगेको छ । गाजरको भाउ ८० बाट १२०, लोकल काँक्रो ८० बाट १००, गोलभेँडा ६० बाट १ सय पुगेको छ । त्यस्तै, सरदर ५० रुपैयाँ प्रतिकिलो रहेको भेन्टा, परवल, भिन्डी र करेलाको भाउ पनि प्रतिकिलो ८० रुपैयाँ पुगेको छ ।
